विश्व व्यापार संगठन (डब्लुटिओ) मा नेपालले आफ्नो तेस्रो व्यापार नीति समीक्षा गराएको छ। समीक्षामा नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीप्रति नेपालले प्रतिबद्धता जनाएको छ।
नेपालले व्यापार तथा लगानीका क्षेत्रमा गरेका सुधारहरू प्रस्तुत गर्दै निरन्तर अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा राखेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले स्विटजरल्यान्डको जेनेभामा उक्त समीक्षा गरेको हो।
नेपाल पक्षले विश्व व्यापार संगठन अन्तर्गतका नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।
समीक्षा अवधिमा व्यापार तथा लगानीको क्षेत्रमा कानुनी, नीतिगत तथा संस्थागत सुधारका प्रयासहरू गरिएका सचिव डा. घिमिरेले बताएका छन्।
व्यापार तथा लगानीका क्षेत्रमा नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरिएको विषय घिमिरेले राखेका थिए।
व्यापार लागत न्यूनीकरण, व्यापार विविधीकरण, लगानी आकर्षण गरी अल्पविकसित राष्ट्रबाट स्तरोन्नतिलाई दिगो बनाउने लक्ष्य हासिल गर्न तथा व्यापार घाटा न्यूनीकरण गर्न विश्व व्यापार संगठन र सदस्य राष्ट्रहरूबाट निरन्तर सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।

तेस्रो व्यापार नीति समीक्षामा सहभागी ४६ विश्व व्यापार संगठन सदस्यहरूले बहुपक्षीय व्यापार प्रणालीमा नेपालको सक्रिय सहभागिताको प्रशंसा गरेको बताइएको छ।
उनीहरूले नेपालको व्यापार लागत न्यूनीकरण, व्यापार विविधीकरण तथा विकासशील मुलुकमा स्तरोन्नतिका लागि गरिएका प्रयासको पनि प्रशंसा गरेका हुन्।
समीक्षाका क्रममा करिब २० सदस्य राष्ट्रहरूबाट दुई सयभन्दा बढी लिखित प्रश्नहरू आएको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसको जबाफ नेपालले सचिवालयमा पेस गरिसकेको छ।
डा. घिमिरेले सदस्य राष्ट्रहरूबाट प्राप्त प्रतिक्रिया र सुझावहरूलाई आगामी दिनमा व्यापार र लगानी क्षेत्रमा थप सुधार गर्ने प्रतिबद्धता गरे।