माछापुच्छ्रे बैंकको लिलामीमा सेयर बिक्री खुलेको थाहा पाएपछि बुटवल देवीनगरका सुरेन्द्र खनाल सोमबार बैंकको राममन्दिर शाखा कार्यालयमा पुगे। बजारमाभन्दा केही सस्तो मूल्यमा पाइने भएकाले उनी शिलवन्दीमार्फत सेयर आवेदन दिन त्यहाँ पुगेका थिए।
तर त्यहाँका कर्मचारीले लिलामी सेयर किन्न बिक्री प्रवन्धक एनएमबि क्यापिटलमै जानुपर्ने बताएपछि उनले आवेदन दिनै पाएनन्। ‘लिलामी सेयरका लागि काठमाडौं नै जानुपर्ने रहेछ, राजधानी गएर आउँदा मेरो खर्च बढ्ने भएकाले सेयर पाए पनि झन् नोक्सान हुने देखेपछि गइनँ’ सेतोपाटीसित उनले भने।
ब्रोकर शाखा खोलेर दोस्रो बजारबाट सेयर खरिदबिक्री सहज गराइए पनि लिलामीका सेयरमा आवेदन दिन नपाउँदा उनी आक्रोशित भए। ‘लिलामीको सेयर काठमाडौंकाले सस्तोमा किन्ने, त्यही सेयर हामीलाई भिराउनका लागि मात्रै ब्रोकर कार्यालय ल्याएको हो?’ उनले प्रश्न गरे।
कारोबारलाई प्राथमिकता दिँदै ब्रोकर कम्पनीहरु उपत्यकाबाहिर संचालनमा आइरहेका बेला लिलामीको सेयरमा भने आवेदन दिन नपाउँदा उनीहरुमा आक्रोश बढेको छ।
बिक्री प्रवन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरे उपत्यकाबाहिरका लगानीकर्तालाई लिलामी सेयरमा सहभागिता गराउन नसकिएको स्वीकार गर्छन्। ‘जबसम्म भौतिक रुपमै शिलवन्दी आवेदन बुझ्नुपर्ने हुन्छ, तवसम्म उपत्यकाबाहिरका लगानीकर्तालाई यसमा सहभागिता गराउन धेरै चुनौतिपूर्ण र खर्चिलो हुन्छ,’ घिमिरेले भने ‘विभिन्न इ-बिडिङ सिस्टमहरुको अध्ययन गरेर लिलामी सेयरको प्रक्रियालाई पनि प्रविधियुक्त बनाउनुपर्दछ।’
सबै शिलबन्दी फारम एकीकृत गरेर खोल्नुपर्ने भएकाले भौतिक रुपमा उपत्यकाबाहिरको आवेदन संकलन गर्न नसकिने उनले बताए।कुरियरमार्फत आवेदन लिँदा तोकिएको अवधिभित्र सबै प्राप्त हुने आधार नभएको उनले स्पष्ट पारे। ‘यो गोप्य टेन्डर नै हो, खुल्ने र बन्द हुने अवधि सबैका लागि एउटै हुन्छ, बिक्री अवधि सकिएको भोलिपल्ट शिलबन्दी खोलिन्छ, उपत्यकाबाहिरको सबै आवेदन भोलिपल्टै केन्द्रमा आउन संभव छैन’ घिमिरेले भने ‘यसका लागि बिक्री प्रवन्धकले गरेर हुँदैन, नेप्से, सिडिएस तथा धितोपत्र बोर्डले नै प्रयास गर्नुपर्दछ।’
नेप्से, सिडिएस वा कुनै वेबसाइटमार्फत गोप्य रुपमा आवेदन लिन मिल्ने ‘प्ल्याटफर्म’ बनाई उपत्यकाबाहिरकालाई समेट्न सकिने सुझाव उनले दिए। इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल आइपिओमा लागू गरिएको आस्बाजस्तै कुनै प्रणालीको विकास गरी लिलामी सेयरलाई सहज बनाइनुपर्ने बताउँछन्।
राजधानीममै पनि लिलामी सेयरमा आवेदन दिन दिनभर लाइन बस्नुपर्ने बाध्यता रहेको लगानीकर्ताको गुनासो छ। ‘क्यापिटलमा एक सय रुपैयाँ तिरेर फारम लिनुपर्ने, सम्वन्धित बैंकमा गएर पैसा जम्मा गर्नुपर्ने र बुझाएको पैसाको रसिदसँगै फेरि क्यापिटलमै आएर भरेको फारम बुझाउनुपर्ने हुँदा तीन पटकसम्म लाइन बस्नुपर्छ’ एक लगानीकर्ताले भने।
राजधानीमा सहज गर्दै उपत्यकाबाहिर लिलामी सेयरको पहुँच पुर्याउन आफूहरुले नेप्से तथा बोर्डलाई सुझाव दिएको अध्यक्ष पौडेल बताउँछन्।
धितोपत्र बोर्डले भने लिलामी सेयरमा उपत्यकाबाहिरका लगानीकर्तालाई समेट्ने प्रयास भइरहेको दावी गरेको छ। बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरीले यसबारे बोर्डमा छलफल भइरहेको बताउँदै केही दिनमै उपत्यकाबाहिरबाट लिलामी सेयरमा आवेदन लिने प्रक्रियारे टुङ्गो लगाइने बताए।
उनले भने ‘बोर्डको पनि यस सम्वन्धमा ध्यानाकर्षण भएको छ, उपत्यकाबाहिरका लगानीकर्तालाई लिलामी सेयरमा समेट्नेगरी चाँडै नयाँ निर्णय गर्नेछौँ।’ मर्चेन्ट बैंकहरुलाई उपत्यकाबाहिरका केही स्थानहरुबाट आवेदन संकलन गर्नेगरी निर्देशन दिने तयारी भएको उनले बताए।
हाल मर्चेन्ट बैंकसँग यस विषयमा छलफल चलिरहेको उनको भनाइ छ। ‘उपत्यकाबाहिरका सबै स्थानबाट नसके पनि क्षेत्रीय शहरहरुबाट लिलामी सेयरको फारम वितरण तथा संकलन गर्नेगरी एक हप्ताभित्रै हामीले निर्देशन जारी गर्दैछौँ’ गिरीले भने।