बुधबार सेयर बिक्री गर्दा दसैंअघि नै भुक्तानी पाइने भएपछि बजार २७ अंकले घटेको छ। बुधबार बजार एक प्रतिशत (२७.८९ अंकले) घटेर २६५४ विन्दुमा पुगेको हो।
कारोबारपछिको तीन दिनभित्र ब्रोकर कम्पनीहरूले सेयर किन्नेबाट पैसा उठाएर बिक्री गर्नेलाई बुझाउनुपर्ने नियम छ। बिहीबारपछिको कारोबारको भुक्तानी भने दसैं विदापछि मात्रै पाइनेछ।
यसअघि दुई दिन लगातार करिब सात प्रतिशतले बजार बढेपछि लगानीकर्ताहरूलाई नाफा भएको थियो। यही नाफा सुरक्षित गर्न र दसैं खर्च जुटाउन लगानीकर्ताहरू सेयर बिक्रीमा उत्रिएका हुन्।
तर, बजार घटे पनि कारोबार रकम भने नबढेको देखिन्छ। यसले लगानीकर्ताहरू आक्रामक रूपमा सेयर बिक्रीमा नदेखिएको संकेत गर्छ।
बुधबार चार अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ। मंगलबार पाँच अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
कारोबारमा सूचीकृत ३१७ कम्पनीमध्ये ८२ वटाको मूल्य बढेको छ, २२० वटाको घटेको छ भने बाँकीको मूल्य स्थिर छ।
तीन कम्पनीका सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ। माथिल्लो मैलुन खोला जलविद्युत्, सिटी होटल र हिमस्टार कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको हो।
उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.३८ प्रतिशतले घटेको छ। यस दिन युनियन हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ।