चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा बैंकहरूले प्रवाह गर्ने कर्जा रकम ११ अर्ब रूपैयाँले घटेको छ।
वाणिज्य बैंकहरूले गत असारमा कुल ४९ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी गरेकोमा साउनमा यस्तो लगानी ४९ खर्ब ६४ अर्ब रूपैयाँमा सीमित भएको छ।
बैंकहरूको निक्षेप संकलन समेत ५२ अर्ब रूपैयाँ घटेको छ। असारमा ६५ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले साउनमा यस्तो निक्षेप घटेर ६४ खर्ब ७९ अर्ब रूपैयाँमा सीमित भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा अहिले करिब सात खर्ब रूपैयाँ बराबर कर्जा लगानी योग्य रकम थुप्रिएको छ। कर्जा लगानी हुन नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात औसतमा ७५.८३ प्रतिशत छ। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन्।
राष्ट्रिय वाणिज्य बैंकको यस्तो अनुपात सबैभन्दा कम ६२.४७ प्रतिशत छ। बैंकले चार खर्ब ८९ अर्ब निक्षेप संकलन भएकोमा तीन खर्ब पाँच अर्ब कर्जा लगानी गरेको छ।
सबैभन्दा धेरै निक्षेप हुनेमा ग्लोबल आइएमर्इ बैंक छ। बैंकले पाँच खर्ब ८३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेकोमा चार खर्ब ४४ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७४.१६ प्रतिशत छ।