बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडले भदौ ११ गतेबाट सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ।
कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो। न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ।
सेयर निष्कासन भदौ १५ गतेसम्म खुला रहनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २५ गतेसम्म बिक्री खुला हुनेछ।
कम्पनीले हालै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि सेयर निष्कासन गरिसकेको छ।
कम्पनीको सेयर निष्कासन व्यवस्थापक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड हो।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड छ। केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बिबी (आइएस) रेटिङ दिएको छ।
कम्पनीले समयमा वित्तीय दायित्वहरू पूरा गर्न सक्ने आधारमा हेरिएको जोखिम सूचकले मध्यम अवस्था रहेको जनाउँछ।
२०७० सालमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड स्थापना भएको थियो। पछि पब्लिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीले तनहुँ जिल्लाको बन्दीपुरमा केबलकार तथा होटल सञ्चालन गर्न लागिरहेको छ।
राष्ट्रिय योजना आयोगले यस परियोजनालाई ‘राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना’ को सूचीमा राखेको छ।