दुई वर्षयता सेयर बजारले उल्लेखनीय फड्को मारेको छ।
२०८० साउन १ गते २,१४४ बिन्दुमा रहेको नेप्से परिसूचक २०८२ असार ३२ सम्म आइपुग्दा २,७९४ पुगेको छ — जसको अर्थ हो ३० प्रतिशत वृद्धि।
तर यो अंकले मात्र पूरा कथा भन्दैन। वास्तविक कथा त केही कम्पनीका सेयर लगानीकर्ताले कमाएको सात गुणा नाफाले भन्छ।
यो दुई वर्ष अन्तरालमा सेयर बजार मापन गर्ने परिसूचक नेप्से ३० प्रतिशत बढ्दा केही कम्पनीका लगानीकर्ताले ६५६ प्रतिशतसम्म प्रतिफल पाएका छन्।
सबभन्दा लाभ कमाउने कम्पनीमध्ये बोटलर्स नेपाल (बालाजु) अग्रपंक्तिमा छ।
दुई वर्षअघि २,३११ रूपैयाँमा कारोबार भइरहेको यसको सेयर मूल्य गत असार ३२ गते उफ्रिएर १७,४९८ रूपैयाँ पुगेको थियो। यसबाट लगानीकर्तालाई ६५६ प्रतिशत लाभ भयो। यो भनेको साढे ७ गुणा मुनाफा हो।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि सात गुणासम्म नाफा कमाए। दुई वर्षअघि ३५० रूपैयाँको सेयर अहिले २,४७६ पुगिसकेको छ।
यही अवधिमा ग्रिन डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी डेभलपमेन्ट, सिडिबी हाइड्रो र राधि विद्युतजस्ता कम्पनीले पनि लगानीकर्तालाई तीनदेखि पाँच गुणा फाइदा दिएका छन्।
ग्रिन डेभलपमेन्ट बैंकको सेयर दुई वर्षअघि ३०६ रूपैयाँमा कारोबार भइरहेको थियो भने अहिले १,४८६ पुगेको छ। यो लगभग पाँच गुणा मुनाफा हो।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर ५१३ बाट २,२७९ मा उक्लेको छ। यो भनेको साढे ४ गुणा मुनाफा हो।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर २५८ बाट १,०५२ रूपैयाँ पुगेको छ। यो चार गुणा मुनाफा हो।
समूहगत आधारमा कुनमा धेरै नाफा?
दुई वर्ष अवधिमा लगानीकर्ताले विकास बैंक, जलविद्युत, लघुवित्त, उत्पादनमूलक क्षेत्रका कम्पनीहरूबाट सबभन्दा धेरै कमाइ गरे।
तर बजारमा सधैं एउटै समूहका कम्पनीबाट मात्र धेरै प्रतिफल पाइने अवस्था हुँदैन। त्यसैले लगानी विविधीकरणका लागि एउटै समूह वा एउटै कम्पनीमा सबै पुँजी लगाउन नहुने विश्लेषकहरू बताउँछन्।
पछिल्लो समय एउटा समूहमा धेरै वृद्धि भइसकेपछि लगानीकर्ताहरू अर्को समूहमा प्रवेश गर्ने चलन छ। छुट्टाछुट्टै समूहका कुनै न कुनै कम्पनीको सेयरमा लगानी गर्न सकियो भने एउटा समूह उच्चमा पुगेर घट्न थाल्दा अर्को समूहको कम्पनी बढ्न सक्छ।
दुई वर्ष अवधिमा कुन समूहका कुन कम्पनीले लगानीकर्तालाई धेरै लाभ दियो त?
उत्पादनमूलक समूहमा सबभन्दा धेरै मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) नै रह्यो। यसको चर्चा हामीले माथि गरिसकेका छौं।
यही समूहमा सबभन्दा धेरै मूल्य बढ्ने अर्को कम्पनी युनिलिभर नेपाल हो। युनिलिभरको सेयर मूल्य ३२,९९८ रूपैयाँबाट ४० प्रतिशत बढेर ४६,३४० पुगेको छ। यो बजारमा रहेकामध्ये सबभन्दा महँगो कम्पनी पनि हो।
लघुवित्त कम्पनीहरूमा सबभन्दा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबभन्दा धेरै बढेको छ। दुई वर्षअघि ७३८ रूपैयाँमा कारोबार भइरहेको कम्पनीको सेयर मूल्य करिब दुई सय प्रतिशत बढेर २,२१३ पुगेको छ।
लघुवित्तमै अर्को कम्पनी विन नेपालको सेयर मूल्य १६८ प्रतिशत बढेर २,१६२ मा कारोबार भएको छ। कम्पनीको सेयर दुई वर्षअघि ८०५ रूपैयाँ थियो।
लगानी समूहमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबभन्दा धेरै बढेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरको यसअघि नै चर्चा गरिसकिएको छ। सिइडिबीको मूल्य भने १९२ प्रतिशत बढ्यो। सुरूमा ९०४ रूपैयाँमा कारोबार भइरहेको यो कम्पनीको सेयर २,६४१ रूपैयाँ पुगेको छ।
जलविद्युत समूहमा राधि विद्युत र माई खोला हाइड्रोको सेयर मूल्य उच्च दरले बढेका छन्।
राधि जलविद्युतको सेयर मूल्य २३४ रूपैयाँबाट बढेर ८१० पुगेको छ। त्यस्तै, २७६ मा कारोबार भएको माई खोला हाइड्रोको सेयर ९१५ रूपैयाँ पुगेको छ।
व्यापारमूलक समूहमा विशाल बजार कम्पनीको सेयर ३,४३० बाट ५,३८३ पुगेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनको ४,८१९ रूपैयाबाट ५,२९० पुगेको छ।
वाणिज्य बैंकहरूमा सिद्धार्थ र सानिमा बैंकको सेयर मूल्य सबभन्दा धेरै बढेको छ।
सिद्धार्थ बैंकको सेयर २५३ रूपैयाँमा कारोबार भइरहेकोमा ५१.६८ प्रतिशत बढेर ३८३ पुगेको छ भने सानिमाको सेयर ४३.८६ प्रतिशत बढेर ३७४ पुगेको छ। सानिमाको सेयर २६० रूपैयाँमा कारोबार भइरहेको थियो।
वित्त कम्पनीमा नेपाल फाइनान्सको सेयर मूल्य ३५१ बाट ७४१ रूपैयाँ पुगेको छ। त्यस्तै, मल्टिपर्पोजको ३८१ बाट बढेर ६४२ रूपैयाँ पुगेको छ।
होटल र पर्यटन समूहतर्फ कालिका दर्शन र तारागाउँ रिजेन्सीको सेयर मूल्य सबभन्दा धेरै बढेका छन्।
कालिका दर्शनको ९३४ रूपैयाँमा सेयर कारोबार भइरहेकोमा २३ प्रतिशत बढेर १,१५७ पुगेको छ। तारागाँउको ७९० बाट १९ प्रतिशत बढेर ९४६ पुगेको छ।
जीवन बीमा कम्पनीमा भने लगानीकर्ताले नेपाल लाइफ इन्स्योरेन्समा मात्र नाफा कमाएका छन्। यो कम्पनीको सेयर ७४४ रूपैयाँमा कारोबार भएको थियो, अहिले ७७२ रूपैयाँ पुगेको छ।
निर्जीवन कम्पनीमा लगानीकर्ताले युनाइटेड अजोडमा १० प्रतिशत र सिद्धार्थ प्रिमियरमा करिब ८ प्रतिशत नाफा कमाए।
युनाइटेड अजोडको सेयर ५१८ बाट बढेर ५७१ पुगेको छ भने सिद्धार्थ प्रिमियरको ७७८ बाट ८४० रूपैयाँ पुगेको छ।
***