साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबारदेखि घट्न सुरू गरेको नेप्सेले यस दिन पनि निरन्तरता पाएको हो।
बिहीबार भने नेप्से १८.१४ अंक र आइतबार २५.४१ अंक गरी यो दुई दिनमा नेप्से ४३.५५ अंकले घटेको हो।
आइतबार नेप्से २६०९.६७ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार सात अर्ब ३० करोडको सेयर कारोबार भएकोमा आइतबार तीन अर्ब ९९ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ३१ करोड रूपैयाँ कमी आएको हो।
आज ३०१ वटा धितोपत्रको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन विन नेपाल लघुवित्त र सिन्धु विकासको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः दुई हजार ७९१ रूपैयाँ ८० पैसा र एक हजार २०८ रूपैयाँ ९० पैसा कायम भएको छ।
आइतबार न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६२१ रूपैयाँ कायम भएको छ।
सानिमा ग्रोथ फण्डको मूल्य ७.५५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६ पैसामा झरेको छ।
आइतबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ११४ रूपैयाँमा २० करोड ४१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिन्धु विकास बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २०८ रूपैयाँ ९० पैसामा १८ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.६० प्रतिशतले घटेको छ भने दोस्रोमा विकास बैंक समूहको परिसूचक १.६० प्रतिशतले घटेको छ।