साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार तीन अर्ब ५९ करोडको सेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ६० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब एक करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१५ वटा धितोपत्रको एक करोड ८६ हजार ७०५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९५ रूपैयाँ कायम भएको छ।
सामुदायिक लघुवित्तको मूल्य ९.९६ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य दुई हजार १७५ रूपैयाँ पुगेको छ।
बिहीबार सपोर्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७६० रूपैयाँ कायम भएको छ।
यस्तै, जानकी फाइनान्सको मूल्य ३.६३ प्रतिशतले घटेर ७४७ रूपैयाँ ८० पैसामा झरेको छ।
बिहीबार प्रभु माहालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य २७० रूपैयाँमा ४६ करोड १७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा न्यादी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४९५ रूपैयाँमा २० करोड ७२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले घटेको छ।