बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २४.९७ अंकले घटेर २७५०.८९ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार आठ अर्ब ५२ करोडको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब १३ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६१ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२० वटा धितोपत्रको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै आठ कम्पनीको स्थिर रहेको छ।
यसदिन खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य सर्किट लेभलमा छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ३८९ रूपैयाँ ९० पैसा र ४५१ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य तीन हजार ११० रूपैयाँ ४० पैसा र एक हजार ४४० रूपैयाँ कायम भएको छ।
बुधबार जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ४५१ रूपैयाँ ७० पैसामा ३० करोड ३० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार १३० रूपैयाँमा २९ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ८.७२ प्रतिशतले बढेको छ।
दोस्रोमा विकास बैंक समूहको परिसूचक १.९४ प्रतिशतले बढेको छ।