तीव्र उतारचढावकाबीच बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ।
यस दिन नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ९ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ३७ करोड रूपैयाँ कमी आएको हो।
आज ३२३ वटा धितोपत्रको एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन यस दिन सात कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ६२१ रूपैयाँ ७० पैसामा झरेको छ।
दोस्रोमा युनिक नेपाल लघुवित्तको मूल्य ७.०६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ९३७ रूपैयाँ कायम भएको छ।
बुधबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ५१९ रूपैयाँ ९० पैसामा ३२ करोड ८१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ७२ रूपैयाँ ३० पैसामा ३२ करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यस दिन विकास बैंक समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले बढेको छ।
दोस्रोमा वित्त समूहको परिसूचक १.६६ प्रतिशतले बढेको छ।