नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रांगणमा सेयर बजारको बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) झल्काउने साँढेको प्रतिमा राखिएको छ।
करिब १४ महिना लगाएर तयार पारेको भनिएको यो प्रतिमाको औपचारिक अनावरण भइसकेको छैन। तर प्रतिमाका फोटाहरू सामाजिक सञ्जालमा भाइरल छन्। कतिपयले यो प्रतिमा साँढेको हो कि बाछोको हो भनेर मजाक उडाइरहेका छन्। केहीले 'मरनच्याँसे साँढे' भन्दै ट्रोल पनि गरिरहेका छन्।
सेयर बजारमा बुलिस ट्रेन्ड झल्काउन संसारभरि नै साँढेको प्रतिमा राख्ने चलन छ। तर यस्तो साँढेको एउटा खास शैली वा ढाँचा हुन्छ।
सामान्यतया तलबाट माथि सिङ उज्याउँदै आक्रमण गर्ने तयारीमा रहेको साँढेलाई सेयर बजारको बढ्दो प्रवृत्तिको प्रतिबिम्बका रूपमा लिइन्छ। त्यस्तो साँढेको आँखाको भाव र पुच्छरले समेत हान्न ठिक्क परेको साँढेकै झलक दिन्छ। यस्तो साँढेलाई 'चार्जिङ बुल' भनिन्छ।
यही चार्जिङ बुलको झलक आउने गरी अमेरिकादेखि युरोपेली देशहरू र चीनदेखि भारतसम्मले आफ्नो सेयर बजारको प्रांगणमा सिङ उज्याउँदै गरेको साँढेको प्रतिमा राखेका छन्।
नेपाल स्टक एक्सचेन्जको प्रांगणमा राखिएको साँढेको प्रतिमाले भने सिङ उज्याएको नदेखिने, आँखाको भाव पनि सामान्य भएको, प्रतिमाको आकार-प्रकार पनि सानो भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको मजाक उडाएका हुन्।
नेपाली कला संसारभरि लोकप्रिय छ। नेपाली शिल्पकारहरूले बनाएका मूर्तिको विदेशीहरूले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन्। तर सरकारी काममा प्रयोग हुने मूर्तिहरूको कला-सौन्दर्यलाई लिएर पटक-पटक आलोचना हुँदै आएको छ।
यसअघि २०७७ सालमा संसदको लोगोमा प्रयोग गरिएको नक्सा भद्दा भएको भन्दै आलोचना भएको थियो। पछि लोगो फिर्ता लिइयो। अहिले नेप्सेको प्रांगणमा राखिएको साँढेको प्रतिमामाथि त्यस्तै प्रश्न उठेको छ।


नेप्सेका अधिकारीहरू भने यो प्रतिमा सामाजिक सञ्जालमा फैलिएको तस्बिरमा देखिएजस्तो भद्दा नभएको बताउँछन्।
स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले तस्बिरमा जस्तो देखिएको भए पनि वास्तविक प्रतिमाले हान्न लागेको साँढे (चार्जिङ बुल) कै झलक दिने बताए।
'यो प्रतिमा फोटोमा देखिएजस्तो छैन, यहीँ आएर हेर्दा पनि थाहा हुन्छ,' उनले भने, 'देब्रे खुट्टा केही छड्के परेको छ, पुच्छर उचालिएको छ। यसले साँढेको चार्जिङ पोजिसन नै देखाउँछ।'
हामीले उनलाई सोधेका थियौं, 'तपाईंहरू बेलाबेला विदेश गइरहनुहुन्छ, अरूतिरको सेयर बजारमा रहेको साँढेको प्रतिमा पनि देख्नुभएकै छ? के यसले त्यसकै झलक दिन्छ त?'
जबाफमा उनले भने, 'यो प्रतिमाको डिजाइन नेप्से सञ्चालक समितिले स्वीकृत गरेको हो। अरू देशमा जस्तो छ, त्यस्तै बनाउनुपर्छ भन्ने हुँदैन। यस्तो सिर्जनशीलतामा अरूको ठ्याक्कै नक्कल गर्दा प्रतिलिपि अधिकारलाई पनि ख्याल गर्नुपर्ने हुन्छ।'
उनले अगाडि भने, 'अहिले विश्वमा सबभन्दा राम्रो देखिने अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा रहेको साँढेको प्रतिमा हो। सबैले त्यही हेरेको आधारमा तुलना गर्दा केही नराम्रो देखिएको हुन सक्छ।'
हामीले यो पनि सोध्यौं, 'त्यसो भए अन्य मुलुकबाट आउनेहरूका अगाडि हाम्रो प्रतिमा हाँसोको विषय हुँदैन होला त?'
अमेरिकाको न्यूयोर्कमा रहेको चार्जिङ बुल
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आँगनमा नवनिर्मित साँढेको प्रतिमा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटीप्रवक्ता पराजुलीले भने, 'हरेक मुलुकमा एउटै खालको प्रतिमा देखिँदैन। हङकङ स्टक एक्सचेन्जको प्रतिमा हेर्ने हो भने पाडापाडी वा भैंसी-राँगाजस्तो देखिन्छ। पाकिस्तानको पनि फरक खालको छ। कोरियाको त पाँगो माटोले बनेजस्तो देखिन्छ। सबैले आ-आफ्नो देशको मौलिकताअनुसार फरक-फरक किसिमका प्रतिमा बनाएका छन्। त्यसैले नेपालको पनि यस्तै शैली रहेछ भन्ने हुन्छ।'
हामीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसँग पनि यसबारे कुरा गरेका थियौं। उनले साँढेको वास्तविक प्रतिमा सामाजिक सञ्जालमा प्रचार गरिएको तस्बिरभन्दा फरक भएको बताए।
'नेप्से स्थापना भएको ३० वर्षभन्दा बढी भइसकेको छ, बल्ल हामीले प्रतिमा राखेका छौं,' उनले भने, 'हामीकहाँ जे कुराको पनि आलोचना गर्ने चलन छ।'
यो प्रतिमाको यकिन लागत स्टक एक्सचेन्जसँग पनि छैन। नेप्सेले आफ्नो प्रवेशद्वार, बगैंचा, प्रांगणको पर्खालसहित साँढेको प्रतिमा बनाउन १ करोड ४८ लाख रूपैयाँको ठेक्का लगाएको थियो।
साँढेको प्रतिमा १० फिट लम्बाइ र १२ फिट उचाइको छ। ढलोट र पित्तल मिसिएको यो प्रतिमा अहिले पहेँलो देखिए पनि बिस्तारै केही कालो हुँदै जाने नेप्सेका अधिकारीहरू बताउँछन्।
सम्झौताअनुसार ६ सय किलोको प्रतिमा तयार पार्नुपर्ने भए पनि केही ठूलो बनाइएको छ। त्यसका लागि थप लागत भने नपर्ने नेप्सेका प्रवक्ता पराजुलीले बताए।
सबै तस्बिरहरू- नवीनबाबु गुरूङ/सेतोपाटी







