बुलिस प्रवृत्तिमा बजार जानै लाग्दा मुलुक भित्रको राजनीतिमा सरगर्मी बढेसँगै बजारमा प्रभाव देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउसँगै मुलुकका विभिन्न भागमा नारा जुलुस हुन थालेपछि बजारमा प्रभाव देखिएको हो।
छोटो अवधिको लागि भए पनि यस्ता राजनैतिक घटनाले बजारलाई प्रभाव पार्छ।
आइतबार नेप्से ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा बन्द भएको छ।
आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार सात अर्ब १९ करोडको कारोबार भएकोमा यसदिन आठ अर्ब १८ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब रूपैयाँ वृद्धि भएको हो।
आज ३१५ वटा धितोपत्रको दुई करोड आठ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ वटाको घटेको छ।
यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ३०८ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसैगरी, ङादी ग्रुप पावरको मूल्य ९.८९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५२२ रूपैयाँ पुगेको छ।
यस्तै, इष्टर्न हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७५ रूपैयाँ ७० पैसामा झरेको छ।
गुडविल फाइनान्सको मूल्य ८.४१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९९ रूपैयाँ १० पैसा कायम भएको छ।
आइतबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९९ रूपैयाँ १० पैसामा ४५ करोड ७ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २४६ रूपैयाँमा ८७ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४ प्रतिशतले घटेको छ भने दोस्रोमा जीवन बीमा समूहको परिसूचक २.४६ प्रतिशतले घटेको छ।