केही सातादेखि बढ्दै गएको अमेरिकी डलरको मूल्यले १०९ रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको बिनिमयदर अनुसार बुधबार १ डलर खरिद गर्न १०९ रुपैयाँ २२ पैसा खर्चिनुपर्नेछ। यसअघि मंगलबार यो मूल्य १०८ रुपैयाँ ३२ पैसा थियो।
राष्ट्र बैंकले लिने डलरको मूल्य भने १०८ रुपैयाँ ६२ पैसा तोकिएको छ। अघिल्लो दिन यो मूल्य १०७ रुपैयाँ ७२ पैसा थियो। ठीक एक महिनाअघि १ डलरको बिक्रीदर मूल्य १०४ रुपैयाँ ६३ पैसा थियो।
उत्तर कोरियासँग अमेरिकी सम्वन्ध सुधारिने संकेत देखिनु, कच्चा तेलको मूल्य बढ्नु तथा अमेरिकामा बढ्दै गएको रोजगारीको प्रभावले भारतीय मुद्रा कमजोर भएको संचारमाध्यमले जनाएका छन्। भारतसँग स्थिर बिनिमयदर रहेको नेपालमा त्यसकै प्रभावले डलरको मूल्य महँगो भएको हो।
डलरको मूल्य बढ्दा व्यापार घाटा बढ्न गई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्दछ।