नेपाल धितोपत्र बोर्डले जेठ १ अर्थात आजदेखि ग्राहक पहिचान विवरण अपडेट (केवाईसी) अनिवार्य गरेपछि सेयर कारोबारमा भारी गिरावट आएको छ।
पहिचान विवरण अपडेट नगर्ने लगानीकर्ताले सेयर कारोबार गर्न नपाउने व्यवस्था गरेसँगै मंगलबारको कारोबारमा भारी गिरावट आएको हो।
सामान्यतः दैनिक ३० करोड बढीको कारोबार हुँदै आएकोमा मंगलबार १४ करोड ९२ लाख रुपैयाँमा सिमित भयो। यसअघि सोमबार ४२ करोडको सेयर कारोबार भएको थियो।
मंगलबार कुनै पनि कम्पनीको कारोबारले १ करोड छुन सकेन। यसअघि हिजो उच्च कारोबार भएको सिद्धार्थ बैंकको ६ करोडको सेयर किनबेच भएको थियो। उसहित ५ कम्पनीको कारोबारले १ करोडको सीमा नाघेको थियो।
त्यस्तै कारोबार हुने कम्पनीको संख्या पनि यस दिन कम रहे। अघिल्लो दिन १६३ कम्पनीको कारोबार भएकोमा १४३ मात्रै कायम रह्यो।
बोर्डले सबै ब्रोकर कार्यालयहरुलाई केही दिनअघि नै ग्राहक पहिचान विवरण राख्न निर्देशन दिएको थियो। ग्राहक पहिचान विवरण नभएकाको जेठ १ देखि कारोबार नगर्न बोर्डले निर्देशन दिएको थियो।
सो निर्देशनपछि मंगलबार धेरैले कारोबार गर्न नपाएको ब्रोकर कम्पनीहरुले बताएका छन्। ब्रोकर नं. ३८ दिपशिखाका संचालक विष्णु ओझाले केही लगानीकर्ताको ग्राहक पहिचान विवरण अपडेट हुने क्रममै रहेको बताए।
आइतबारदेखि मात्रै कारोबार सामान्य अवस्थामा फर्किने उनले जानकारी दिए। ‘हामीले केही दिनदेखि नै केवाइसी अपडेट गरिरहेका छौँ, केही बाँकी रहेकाले आइतबारदेखि नै यो सामान्य अवस्थामा आउँछ’ उनले भने।
केही दिनयता बजारको ट्रेण्ड घट्दो देखिएकाले पनि कारोबारमा सुस्तता आएको हुन सक्ने उनले बताए। आफ्नो कार्यालयबाट करिब २० प्रतिशत पहिचान विवरण अपडेट हुन बाँकी रहेको उनले जानकारी दिए।
लगानीकर्ताले भने दोहोरो ग्राहक पहिचान विवरण अनावश्यक रहेको बताएका छन्। बैंकको खाता नम्वर नभएसम्म ब्रोकरबाट सेयर कारोबार हुन नसक्ने र बैंकमै विस्तृत रुपमा केवाईसी अपडेट हुने भएकाले ब्रोकर कार्यालयमा यसको जरुरत नभएको उनीहरुको बुझाई छ।
‘जब बैंकको खाता नभएसम्म सेयर कारोबार गर्नै मिल्दैन, अनि बैंकले नै केवाइसी अपडेट गरेपछि फेरि ब्रोकरबाट त्यो झन्झट दिनु जायज होइन’ एक लगानीकर्ताले भने।
केवाईसी फारम भर्नका लागि सबैभन्दा पहिले सम्बद्ध ब्रोकर कार्यालयमा गई फारम लिनुपर्छ, यो निशुल्क पाइन्छ।
एउटा फोटो, नागरिकता तथा नागरिकताको प्रतिलिपी र डिम्याट खाता अन्यमा भएमा खाताको प्रतिलिपी विवरण लगेर अपडेट हुन सकिने उनले जानकारी दिए।
बोर्डले भने कारोबारलाई पारदर्शी बनाउन र कालोधन भित्रिन नदिनका लागि भन्दै यस्तो व्यवस्था गरिएको जनाएको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार देशभर १२ लाख ४१ हजार सेयर लगानीकर्ता छन्।
सिडिएस एण्ड क्लियरिङका अनुसार देशभर १२ लाख ४१ हजार सेयर लगानीकर्ता छन्। ५० वटा ब्रोकर कार्यालय छन् भने डिम्याट खाता खोलिदिने निक्षेप सदस्यको संख्या ६६ छ।
मंगलबार परिसूचक ४ अंकले ओर्लियोमंगलबार सेयर बजारको परिसूचक ४ अंकले झरेको छ। कारोबार सुरु हुँदा केही बढे पनि १० मिनेटपछि नै नेप्से मन्द गतिमा ओर्लियो। १४३ कम्पनीको कारोबार भयो।
बजारको पुँजीकरण १५ खर्ब ६५ अर्ब कायम भएको छ। व्यापार र उत्पादनबाहेक सबै समूह घटेका छन्। व्यापार ५ तथा उत्पादन समूह २८ अंकले बढे।
बैंकिङ ४, होटल ३२, विकास बैंक १०, जलविद्युत १३, फाइनान्स १, बिमा १२, माइक्रोफाइनान्स ५ अंकले ओर्लिए। अन्य समूह ०. ५ अंकले रातो रह्यो।
मिर्मिरे माइक्रोफाइनान्सको सबैभन्दा धेरै ८६ लाख रुपैयाँको कारोबार भयो। हिमालय डिस्टिलरीको मूल्य यस दिन ९.९ प्रतिशतले बढेको छ।
उन्नती माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत कमाए। जनउत्थान सामुदायिकका लगानीकर्ताले ४. ९ प्रतिशत गुमाए।