टुरिजम डेभलपमेन्ट मेगा बैंकमा गाभिएर आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एकीकृत कारोबारको सुभारम्भ गरे। सो अवसरमा गभर्नर नेपालले प्रक्रिया नपुर्याई गलत तवरले कर्जा प्रवाह गर्ने बैंकलाई कारबाही गर्ने चेतावनी दिए।
संचालकहरुबाट नाफाका लागि दवाव आएका कुरा कोट्याउँदै उनले बैंक नाफाका लागि नभई मुलुकको सही आर्थिक क्रियाकलापका लागि केन्द्रित हुनुपर्नेमा जोड दिए। ‘जनताको पैसा जिम्मेवारपूर्वक परिचालन गर्नुहोस्, तलमाथि गर्नुभयो भने राष्ट्र बैंक हेरेर बस्दैन’ उनले भने ‘धेरै नाफा खोज्नलाई अन्य क्षेत्र छन्।’ संचालकहरुलाई नाफाका लागि दवाव नदिन उनले आग्रह गरे।
बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम डेभलपमेन्ट बैंकका सबै ३६ शाखा, एक्सटेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभिएपछि एउटै परिवार बनेको उल्लेख गरे।
टुरिजम डेभलपमेन्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी ‘स्वाप रेसियो’ निर्धारण भएको छ। मेगा बैंकको यो दोस्रो मर्जर हो। यसअघि बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो।
टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको अध्यक्ष शाहले बताए।
‘यसले व्यावसायिक अवसरहरुमा पनि वृद्धि भएको छ, अब ३२ जिल्लाबाट शाखा विस्तार भएर देशका ४९ जिल्लामा पुगेको छ’ उनले भने ‘हामी सातवटै प्रदेशमा हेडक्वार्टर स्थापना गर्नेगरी अगाडि बढिरहेका छौँ।’
विज्ञहरुसँगको परामर्श र छलफलबाट बैंकले पाँच बर्षे रणनीतिक योजना तय गरेको उनले बताए। आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्नेमा केन्द्रित हुने शाहले बताए।
संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक उत्कृष्ट बन्ने बताए।
बैंककी सिइओ अनुपमा खुञ्जेलीले सबै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नीति बमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखाहरु खोल्ने कार्य भइरहेको बताइन्। बैंकका शाखा सञ्जाल बढेर १०२ कायम हुने उनले बताइन्।
मेगामा प्रत्यक्ष संलग्न कर्मचारीको संख्या ८८६ पुगेको उनले जानकारी दिइन्।
मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ। १० करोड रुपैयाँ पुँजीगत जगेडामा थप भएको छ।
बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ। अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ।
मेगा बैंकको देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन्। मेगाका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा छन्।