आइतबार अमेरिकी डलर महँगिएको छ। राष्ट्र बैंकले १ डलरको बिक्रीदर मूल्य १०८ रुपैयाँ ३ पैसा तोकेको छ भने खरिददर मूल्य १०७ रुपैयाँ ४७ पैसा कायम भएको छ।
गत आइतबार बिक्रीदर मूल्य १०७ रुपैयाँ २८ पैसा तथा खरिददर मूल्य १०६ रुपैयाँ ६८ पैसा तोकिएको थियो। एक महिनाअघिको तुलनामा डलर करिब ४ रुपैयाँले बढेको छ। चैतको अन्तिम दिन बिक्रीदर मूल्य १०४ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य १०४ रुपैयाँ १२ पैसा कायम भएको थियो।
भारतीय मुद्रासँग स्थिर बिनिमयदर रहेकाले भारु कमजोर भएपछि नेपाली मुद्रा स्वतः कमजोर भएको विज्ञ बताउँछन्। अमेरिकामा बढ्दो रोजगारीको अवसर र उत्तर कोरियाको त्रास हट्दै जाँदा डलर महँगो भएको बताइएको छ।
डलर महँगिदा आयातित बस्तुको मूल्य बढ्न जान्छ, जसले गर्दा व्यापार घाटा बढ्न जानेछ। त्यस्तै आयोजनाहरुको लागत महँगो पर्न जानेछ।
विदेशबाट आउने रेमिट्यान्समा भने यसले सकारात्मक प्रभाव पार्नेछ। नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख देशहरुको मुद्रा महँगो हुने भएकाले रेमिट्यान्समा यसले सकारात्मक प्रभाव पार्दछ। डलर महँगिएसँगै मलेसियन रिंगेट, कतारी तथा साउदीको रियाल, दुबई दिरामको मूल्य पनि बढेको छ।
आइतबार मलेसियन रिंगेटको बिक्रीदर मूल्य २७ रुपैयाँ ३५ पैसा, साउदी रियालको २८ रुपैयाँ ८० पैसा, कतारी रियालको २९ रुपैयाँ ६७ पैसा, दुबई दिरामको २९ रुपैयाँ ४१ पैसा कायम भएको छ।
ठीक एक महिनाअघि मलेसियन रिंगेटको बिक्रीदर मूल्य २७ रुपैयाँ १ पैसा, कतारी रियालको २८ रुपैयाँ ७५ पैसा, साउदी रियालको २७ रुपैयाँ ९२ पैसा र दुबई दिरामको मूल्य २८ रुपैयाँ ५१ पैसा थियो।