सपिङ गर्न जानुपरेमा एटिएमबाट पैसा निकाल्ने र त्यही रकम खर्चिने आरम्भ सापकोटाले हिजोआज सीधै कार्डमार्फत तिर्ने गरेका छन्।
आरम्भ मात्रै नभई उनका केही साथीहरु पनि हिजोआज कार्डमार्फत नै भुक्तानी गर्न सहज ठान्छन्। ‘कपडाहरु किन्नु परेमा प्रायः दरवारमार्गतिर जान्छु, सबैतिर कार्ड चल्ने भएकाले त्यसबाटै भुक्तानी गर्छु’ उनले भने। यसरी कार्डबाट भुक्तानी गर्दा किन्नेको खाताबाट पैसा घट्छ भने बेच्नेको खातामा जम्मा हुन्छ।
पैसा हराउने वा खुद्राको समस्या पनि नहुने भएकाले यो धेरै सहज भएको उनी बताउँछन्। आजकाल एक कप कफी खाँदा पनि मिलेसम्म कार्डबाटै भुक्तानी गर्ने गरेको सापकोटाले बताए।
उनले बिजुली, पानी, टेलिभिजन, फोन लगायतमा उठ्ने बिल पनि घरमै बसेर इसेवाबाट भुक्तानी गर्न थालेका छन्। ‘पैसा तिर्न सरकारी कार्यालय धाउन परेन, समयसँगै गाडी भाडा पनि बचत भयो’ उनले भने।
सापकोटाले विद्युतीय भुक्तानीको फाइदा बताइरहँदा धेरै ठूलो संख्या अझै पनि यस्तो कारोबारबाट बाहिर छ। बिल भुक्तानीका लागि टेलिकम, विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनी वा अन्य सम्बद्ध कार्यालयमा देखिने सर्वसाधारणको भीडले नै यसको पुष्टि गर्दछ।
बैंकहरुले प्रदान गरेका डेविट, क्रेडिट तथा प्रिपेड कार्ड तथा ‘पेमेन्ट सफ्टवेयर’को प्रयोगमार्फत होटल, रेष्टुरेन्ट, सपिङ सेन्टरहरुमा लिएका सेवा तथा सामान खरिदवापतको भुक्तानी गर्न सकिन्छ भन्ने चेतनाको अभाव रहेकाले कार्डबाटको कारोबार अझै बढ्न नसकेको सम्बद्ध अधिकारीहरु बताउँछन्।
चेतनाको अभावकै कारण कार्डको प्रयोग एटिएममा घुसाउन मात्रै सीमित भएको नविल बैंकका कार्ड डिपार्ट प्रमुख निरज शर्माले बताए।
उनका अनुसार नविलबाट जारी हुने डेविट कार्डमध्ये ९५ प्रतिशत एटिएममा मात्रै प्रयोग हुने गरेको छ। ‘हाम्रा मात्रै होइन, समग्रमै डेविट कार्ड प्रयोगकर्तामध्ये ३ देखि ४ प्रतिशतले मात्रै प्रत्यक्ष भुक्तानीमा प्रयोग गर्छन्’ उनले भने।
शर्माका अनुसार हाल कुल डेविट कार्ड प्रयोगकर्ताको संख्या ७० लाखभन्दा धेरै छ। भुक्तानीका लागि क्रेडिट कार्डको भने भरपुर प्रयोग हुने गरेको छ। यद्यपी क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या न्यून छ। जसले गर्दा समग्रमा यसको प्रभाव देखिएको छैन। शर्माका अनुसार करिब ४५ हजार क्रेडिट कार्ड प्रयोगकर्ता छन्।
भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आउनेमध्ये ७० प्रतिशत बढीले अझै पनि नगदबाटै कारोबार गर्ने गरेको कार्ड डिपार्ट प्रमुख रमेश ढकालले बताए।
‘सबै सेन्टरहरुमा कार्डबाट भुक्तानी लिन्छौँ, तर समग्रमा कार्डबाट पैसा तिर्नेहरु ३० प्रतिशतभन्दा धेरै छैनन्’ उनले भने। यद्यपी विगतको तुलनामा यो संख्या केही बढेको उनले बताए।
गत वर्षको चैत र बैशाख महिनामा २५ प्रतिशतजति रकम कार्डबाट संकलन भएकोमा यो वर्षका तिनै महिनामा २९ प्रतिशतको हाराहारी पुगेको उनले जानकारी दिए।
काठमाडौं र पोखरामा कार्डको प्रयोग तुलनात्मक रुपमा बढी हुने गरेको ढकाल बताउँछन्। ‘तिबाहेक अन्य शहरमा कार्डको प्रयोग झनै कम छ’ उनले भने ‘ग्राहकले कार्डकै प्रयोग गरुन् भन्ने हाम्रो पनि चाहना हो।’ अझै पनि धेरैले एटिएम काउन्टरबाट पैसा निकालेर नगद भुक्तानी गर्ने गरेको उनले बताए।
किनमेलमा भएको खर्च सीधै कार्डबाट भुक्तानी होस् भन्ने उद्देश्यले विभिन्न बैंकहरुले ‘नगद फिर्ता’ योजना समेत ल्याएका छन्। जुन योजनाअनुसार खर्चिएको रकममा निश्चित प्रतिशत रकम बैंकहरुले खातामै फिर्ता गरिदिन्छन्। तर यो योजना ल्याए पनि सोचेअनुसार कारोबार नबढेको नविल बैंक कार्ड डिपार्ट प्रमुख शर्मा बताउँछन्।
‘डिजिटल कारोबारमा प्रोत्साहन गर्नकै लागि नविल सहित धेरै बैंकले क्यास ब्याक योजना ल्याएका छन्’ उनले भने ‘तर सोचेअनुसार कारोबार बढ्न सकेको छैन।’
कार्डबाट मात्रै होइन, इन्टरनेटका माध्यमबाट घरमै बसी सबैजसो बिल भुक्तानी गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थासहित विभिन्न कम्पनीहरुले प्रणाली विकास गरी घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेका छन्।
पछिल्ला दिनमा डिजिटल भुक्तानी सेवा दिनकै लागि प्रणालीको विकास गर्दै नयाँ कम्पनीहरु समेत संचालनमा आएका छन्।
इसेवाबाट हालसम्म ६० लाख ग्राहकले सेवा लिएको कस्टमर सर्भिस सेन्टर प्रमुख अरुण फुयाँल बताउँछन्। ग्राहकको संख्या दैनिक बढ्दै गएको उनले बताए। कारोबार रकम गत वर्षभन्दा यो वर्ष ४ गुणाले बढेको उनको दावी छ। ‘गत वर्षको चैतमा दैनिक सरदर १ करोड रकम भुक्तानी हुन्थ्यो, अहिले ४ करोड रुपैयाँ पुगेको छ’ फुयाँलले भने।
रकमका आधारमा विद्युतको बिल भुक्तानीमा सबैभन्दा धेरै कारोबार हुने गरेको र संख्याका आधारमा मोबाइल रिचार्ज सेवाका प्रयोगकर्ता धेरै रहेको उनले बताए।
फुयाँलका अनुसार देशका विभिन्न शहरमा इसेवाका १५ सय आउटलेट संचालनमा छन्। बिजुली, पानी, फोन, इन्टरनेट लगायतका बिल भुक्तानी तथा हवाई टिकट, बस टिकट, मुभीका टिकटहरु ति आउटलेटबाट खरिद गर्न सकिने उनले बताए।
सन् २०२० सम्म कुल कारोबारमा २० प्रतिशत बराबरको हिस्सा डिजिटल माध्यमबाटै पुरा गर्ने लक्ष्य आफूहरुले लिएको उनले जानकारी दिए। खानेपानी भुक्तानीका लागि सम्बद्ध कार्यालयसँग मिलेर बिलिङ सफ्टवेयरमा सहकार्य गरिने उनले बताए।
डिजिटल भुक्तानीको प्रयोग पारदर्शी हुने, पैसा बोक्नु नपर्ने भएकाले हराउने, चोरिने वा नष्ट हुनेजस्ता समस्या नरहने, वस्तु तथा सेवाको खरिदमा निरन्तरता दिन सकिने र अन्तर्राष्ट्रियस्तरको हुने भएकाले सहजता हुने सम्वद्ध अधिकारीहरु बताउँछन्।
सरकारी तवरबाटै डिजिटल भुक्तानीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्नेमा शर्मा र फुयाँलले जोड दिए। डिजिटल कारोबार सम्वन्धमा ठूलो संख्यामा चेतना अभाव रहेकाले उनीहरुलाई दायरामा ल्याउन सरकारी तवरबाटै पहल हुनुपर्नेमा उनीहरुको जोड छ। शर्माका अनुसार देशका विभिन्न शहरमा नविलका २ हजार ‘पस मेसिन’ संचालनमा छन्।
पारदर्शिता अपनाउनुपर्ने हुँदा कर भुक्तानीको त्रासले कतिपय व्यवसायीले ‘पस मेसिन’ राख्न नचाहेको बैंकर्स बताउँछन्। पस मेसिनले ग्राहक र विक्रेताबिचको कारोबारलाई विद्युतियरुप दिई थप व्यवस्थित र पारदर्शी बनाउँछ।
‘पस मेसिनले कारोबारलाई पारदर्शी बनाउँछ, यदी सबैजसो व्यवसायीले पस मेसिन राख्ने हो भने कार्डमार्फत हुने भुक्तानी अझ बढ्ने देखिन्छ’, शर्माले भने।