नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले दोहोरो नागरिकता विधेयक नयाँ राष्ट्रपति आएसँगै पारीत हुने बताइन्।
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै संगौलाले प्रवासी नेपालीले लामो समयदेखि उठाउँदै आएको नागिकता सम्बन्धी विधेयक चाँडै पारित हुने जिकिर गरिन्।
केन्द्रिय सदस्य संग्रौलाले विषम राजनीतिक परिस्थितिबीच कांग्रेसले सरकारलाई विश्वासको मत दिनाले अहिले नयाँ परिस्थिति निमार्ण भएको बताइन्।
राजनीतिमा पद मात्र होइन त्याग, निष्ठा र इमानदारी पनि महत्वपूर्ण रहने भन्दै उनले पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेसका कयैन इमानदार कार्यकर्ताले पार्टीको हितमा आफ्नो सपनालाई तिलान्जली दिएको स्मरण गरिन्।
‘लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो, अतिवाद हुन सक्दैन,’ संग्रौलाले भनिन्।
विदेशमा बस्ने आम नेपालीहरू मुलुकको विकास निर्माणमा प्रत्यक्ष जोडिनुपर्ने तर्क गर्दै उनले मुलुकको आर्थिक विकासका लागि विदेशमा सिकेका शिप र ज्ञानलाई नेपालसँग जोड्न आवश्यक रहेको बताइन्।
कार्यक्रममा बोल्दै पत्रकार शुरेस आचार्यले प्रेस स्वतन्त्रताको पक्षधरका रूपमा रहेको लोकतान्त्रिक पार्टीका हैसियतले कांग्रेसले कुनै ठोस काम गर्न नसकेको आरोप लगाए।
कार्यक्रममा बोल्दै जनसम्पर्क समितिका पूर्व अध्यक्ष कृष्ण गिरीले दोहोरो नागरिकता र जनसम्पर्क समितिको सवालमा पार्टीको स्पष्ट धारणा आउन नसक्दा विदेशका कार्यकर्ता अलमलमा परेको बताए।
बिदेशमा बसेर पार्टीलाई लेबी बुझाए पनि पार्टीले न्यायसंगत रूपमा समान ब्यवहार गर्न नसकेको उनले आरोप लगाए।
आगामी दिनमा जनसम्पर्क समितिमार्फत एनआरएनलाई परिचालन गर्ने र
पार्टीलाई बिदेशी भूमिमा बिस्तार गर्ने योजनामा पार्टीले भूमिका खेल्नुपर्ने गिरीले बताए।
कार्यक्रममा चितवन समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले नेपाली कांग्रेस न्याय, स्वतन्त्रता र कानुनी राज्यको पक्षमा अग्रसर पार्टी भएकोले बिदेशका संगठनमा आवद्ध कार्यकर्ताको विश्वास पार्टीले जित्नुपर्ने बताए।
कार्यक्रममा जन सम्पर्क समितिका अध्यक्ष शुरेस गुरूङले पार्टीको भातृ संगठनका हिसाबले यसको महत्व विदेशमा छरिएर रहेका नेपालीबिच महत्वपूर्ण रहेको जिकिर गर्दै पार्टीले पनि यसलाई सहयोगी संस्थाका रुपमा अगाडि बढाउनुपर्ने बताए।
कार्यक्रममा जनसम्पर्क समितिको एनएसडब्लु राज्य संयोजक शितल खाँड गिरी, जनसम्पर्क समितिका महामन्त्रीद्वय समित केसी र रोहित खड्का, उपाध्यक्ष राजेश केसी लगायतले बोलेका थिए।
कार्यक्रममा एनआरएन आइसीसीका सदस्य बुद्धी डल्लाकोटी, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, एनआरएनका पूर्व महासचिव ज्ञानेन्द्र रेग्मी, मल्टी डाइनामिक अर्वनका निर्देशक तथा एनएडीएफका पूर्व अध्यक्ष डिल्ली ढकाल,
एनआरएनका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल, एनएडीफका पूर्व अध्यक्ष सुरेन्द्र सापकोटा, महेन्द्र लम्साल, नयाका अध्यक्ष निर्जन चौलागाई, एकाका उपाध्यक्ष कोमल पाठक लगायतको उपस्थिति थियो।