पढ्न विदेश जाने तर कुन देश भन्ने अलमल हुँदै गर्दा चितवनका बद्री अर्यालले अस्ट्रेलिया रोजे। सन् १९९६ मा सिड्नी पुगे।
त्यस बेला अस्ट्रेलियामा आजकाल जति धेरै नेपाली थिएनन्। पढ्न विदेश जाने लहर अहिलेको जस्तो सघन थिएन।
बद्रीले सुरूमा आइटी (इन्फर्मेसन टेक्नोलोजी) मा डिप्लोमा गरे। लगत्तै आइटीमै ब्याचलर (स्नातक) डिग्री हासिल गरे।
त्यसपछि केही समय काम गरे। आफ्नै सानोतिनो व्यवसाय पनि चलाउँदै थिए। सन् २००३ मा सिड्नीमा बद्री र अर्का एक नेपाली युवा सञ्जीव शर्मा मिलेर एक्स्पर्ट एजुकेसन एन्ड भिसा नामक कन्सल्टेसी सुरू गरे।
त्यस बेला सिड्नीमा नेपालीले चलाएका कन्सल्टेन्सी थोरै थिए। अस्ट्रेलियाबारे नेपालीहरूलाई धेरै चासो पनि थिएन। त्यही परिवेशमा बद्री र सञ्जीवले साझेदारीमा कन्सल्टेन्सी सुरू गरेका थिए।
'पढ्न अस्ट्रेलिया पनि गइन्छ र भन्ने समयमा हामीले कन्सल्टेन्सी सुरू गरेका थियौं। अस्ट्रेलिया पुगेका विद्यार्थीका लागि कन्सल्टेन्सी जरूरी छ भन्ने लाग्यो,' बद्रीले भने, 'हामी दुई जना (बद्री र सञ्जीव) ले काम सुरू गरेका हौं। सन् २००८ मा लाइसेन्स पाएपछि काम गर्न सजिलो भयो।'
उनका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सरकारी नीति, भिसा प्रक्रिया, पढाइको कोर्स, पढाइ पूरा भएपछि पिआर (स्थायी आवास अनुमति) लगायतमा परामर्श आवश्यक पर्छ।
त्यसै अनुसार उनीहरू दुई जना कन्सल्टेन्सी व्यवसाय गर्ने निष्कर्षमा पुगेका थिए।
प्रारम्भिक समयमा मान्छेको विश्वास जित्न सजिलो थिएन। उनीहरू सबै खाले चुनौतीहरू पार गर्दै, कामबाट काम सिक्दै अघि बढे।
एक्स्पर्टले २००९ मा नेपालमा पनि काम सुरू गर्यो। व्यावसायिक यात्राको २२ वर्षमा अस्ट्रेलियामा मात्र एक्स्पर्टका २२ वटा शाखा छन्। हाल २४ देशमा कुल ८८ वटा शाखाले काम गर्छन्।
कतिपय व्यक्ति उनीहरूलाई यति धेरै देशमा यति धेरै शाखा किन चाहियो भनेर सोध्छन्।
'समयको आवश्यकता र ग्राहकको विश्वासका कारण यति ठूलो विस्तार भएको हो। अस्ट्रेलियाको हाम्रो अफिसमा ब्राजिल, कोलम्बिया, थाइल्यान्ड, भियतनाम, भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया, केन्या लगायत १४ देशका साथीहरू काम गर्छन्,' बद्रीले भने, 'यी साथीहरूले यो सेवा हाम्रो देशमा पनि लैजानुपर्यो भनेकाले हामीले शाखा स्थापना गरेका हौं।'
यस्तो कन्सल्टेन्सीको काम विद्यार्थीको भविष्य निर्माणसँग जोडिने भएकाले संवेदशील हुने उनको भनाइ छ। सुरूमा उनीहरूले अस्ट्रेलियाका लागि मात्र काम गरेका थिए। आवश्यकताकै कारण अन्य देशमा पनि सेवा विस्तार हुँदै गयो।
अस्ट्रेलियामा काम गर्ने सहकर्मीहरूले आआफ्नो देशमा एक्स्पर्टको सेवा चलाएकाले विस्तारमा मद्दत पुगेको हो।
'हामीले धेरै काम गर्ने अस्ट्रेलियाकै लागि हो। क्यानडा, न्युजील्यान्ड, बेलायत, अमेरिका र अन्य केही देशमा पनि विद्यार्थी पठाउँछौं,' बद्रीले भने, 'हालसम्म हामीले अस्ट्रेलियासहित अन्य देशमा गरेर एक लाख ५० हजार विद्यार्थी पठाइसकेका छौं।'
अस्ट्रेलियाबाट सुरू भएकाले मुख्य कार्यालय सिड्नीमै छ। व्यावसायिक रूपमा 'एक्सपर्ट ग्रुप' बनेको छ। यसअन्तर्गत नेपाल र नेपालबाहिर कन्सल्टेन्सी व्यवसाय र कलेजहरूमा लगानी भएको छ।
नेपालमा हस्पिटालिटी र हाइड्रोपावरमा पनि लगानी रहेको बद्रीले बताए।

सञ्जीव हाल अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लागि नेपाली वाणिज्यदूत छन्। एक्सपर्टका दैनिक गतिविधिमा बद्री बढी सक्रिय छन्।
आफूहरूले एकअर्कालाई राम्ररी बुझेकाले एक्स्पर्ट ग्रुप यति व्यापक ढंगले १२ वर्षसम्म निरन्तर अघि बढाउन सम्भव भएको बद्रीले बताए। दुई जनाको भावना र कार्यप्रकृति मिलेकै कारण कम्पनी विश्वव्यापी बनाउन सकिएको उनको भनाइ छ।
'सम्बन्ध जोगाइराख्न गुड कम्युनिकेसन (असल संवाद) धेरै महत्त्वपूर्ण हुने मेरो अनुभव छ,' बद्रीले भने, 'सञ्जीव र मलाई भगवानले नै जुराइदिए जस्तो लाग्छ। दुवै जना आआफ्नो ढंगले एक्स्पर्ट ग्रुपका लागि काममा छौं भनेर एकअर्कालाई विश्वास गर्छौं।'
व्यावसायिक कम्पनी सफल बनाउन 'टिम वर्क' व्यवस्थित बनाउनुपर्ने र आपसमा विश्वास गर्नुपर्ने बद्रीको अनुभव छ। उनले काम पार लगाउने इच्छा शक्तिलाई पनि निकै महत्त्वपूर्ण मानेका छन्।
'हामीले एकअर्कालाई विश्वास गरेर टिम अघि बढाउन सकेकाले दुई जनाले सुरू गरेको एक्स्पर्ट ग्रुपमा अहिले १५ सय जना काम गर्दैछौं,' उनले भने।
रजिस्टर्ड माइग्रेसन एजेन्टका हैसियतले बद्रीले अस्ट्रेलिया जानुअघि र गएपछि गर्नुपर्ने तयारी र होसियारीबारे केही सुझाब दिएका छन्।
पढ्न विदेश जाने तयारी गर्दा विद्यार्थीले आफ्ना अभिभावकसँग राम्ररी सल्लाह गर्नुपर्छ। अभिभावकले सबै कुरा थाहा पाउनुपर्छ।
'तर विद्यार्थीहरू आफ्ना साथीसँग बढी सल्लाह गर्छन्। यो पनि आवश्यक छ तर आफ्नो आर्थिक अवस्था र अन्य क्षमताका आधारमा तयारी गर्नुपर्ने भएकाले अभिभावकसँग राम्रो सल्लाह हुनुपर्छ,' उनले भने।
कन्सल्टेन्सीमा दुई दशकभन्दा बढी समयको काम र साढे एक लाख विद्यार्थी विदेश पठाएको अनुभव भए पनि कहिलेकाहीँ असफल भएको पनि उनले बताए।
'विद्यार्थीका लागि इमानदार प्रयास गर्दा गर्दै पनि सबै परिस्थिति आफूअनुकूल नहुँदा कहिलेकाहीँ असफल भइन्छ,' उनले भने।