स्रोता तथा दर्शकमाझ राम्रो लोकप्रियता बनाएका लोक गायक हुन्, प्रकाश दुतराज। उनले ल्याउने गीतहरूले राम्रो चर्चा कमाउने गरेका छन्। मेला–महोत्सवमा समेत उनी उत्तिकै खोजिन्छन्।
महोत्सवमा पुग्दा उनले स्रोता तथा दर्शकहरूबाट माया पाउँछन्। गत वर्ष पोखरामा आयोजित एक महोत्सवमा मञ्चमै पुगेर युवतीहरूले अंगालो मारेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए।
यसपालि बुटवलमा पनि त्यस्तै दृश्य दोहोरिएको छ। मंगलबार बुटवलमा आयोजित महोत्सवमा प्रस्तुति दिँदै गर्दा एक युवती स्टेजमा पुगेर अंगालो मारेको दृश्य यतिबेला टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल छन्।
गायक प्रकाश स्टेजमा 'चोली मैलै भो' गीत गाइरहेका हुन्छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा देखिएअनुसार एक युवती बार नाघेर स्टेज परिसरमा पुग्छिन्। त्यहाँ उनले गीत गाइरहेका प्रकाशको हात समातेर तान्न खोज्छिन्। सुरक्षाकर्मीले ती युवतीलाई रोक्न खोजेको जस्तो समेत देखिन्छ। एकछिनमा उनी सटेज चढेर प्रकाशलाई अंगालो मार्छिन्।
सामाजिक सञ्जालमा भाइरल बनेका ती दृश्यहरूमा स्रोता–दर्शकहरूले विभिन्न प्रतिक्रिया जनाएका छन्। यो कलाकारप्रतिको माया भएकाले अन्यथा सोच्नु नहुने कतिपयको भनाइ छ। कतिपयले भने महिला कलाकारलाई पुरूष फ्यानले यस्तो गरेको भए कसरी लिइन्थ्यो भनेर प्रश्न समेत गरेका छन्। कतिपयले महोत्सवको सुरक्षा व्यवस्थाबारे समेत प्रश्न उठाएका छन्। मंगलबारको महोत्सवको उक्त घटनालाई भने प्रकाशले स्रोता–दर्शकहरूको माया बताएका छन्।
'त्यहाँ यति धेरै माया गर्ने स्रोता–दर्शकहरू हुनुहुँदो रहेछ। एकदमै नतमस्तक भएँ,' उनले भने।
स्टेजमा आएर युवतीले अंगालो मारेको सन्दर्भमा उनले भने, 'त्यसबेला म आश्चर्यचकित भएँ। माया व्यक्त गर्ने आ-आफ्नो शैली हुन्छ। उहाँले अंगालो मारेर प्रेम व्यक्त गर्नुभयो। माया दिनुभयो। त्यसलाई मैले एकदमै आशीर्वादका रूपमा लिएको छु।'
ती युवतीसँग प्रस्तुतिपछि भेट भने नभएको उनले बताए। ‘एकदमै भिडभाड थियो। उहाँलाई भेट्न खोजेको त थिएँ, तर देखिनँ,’ प्रकाशले भने।
प्रकाशले पछिल्लो समय 'छैन र माया' गीत बजारमा ल्याएका थिए। जसलाई छोटो समयमै १ करोड ७८ लाखभन्दा बढी पटक हेरिएको छ।