नेपाल आइडल सिजन ६ का प्रतियोगी मिलन विश्वकर्माको स्वरमा 'लैजाउ कि कतै मलाई' बोलको गीत सार्वजनिक भएको छ।
सरित राईको संगीत एवं संगीत संयोजन रहेको यस लोक फ्युजन शैलीको गीतमा मिलन विश्वकर्माका साथै सलिना बीके र आशिष महरले पनि आवाज दिएका छन्।
तीनै जनाको सामूहिक स्वर रहेको गीतले प्रेम, चाहना र पुराना दिनहरूको सम्झनालाई मुख्य विषय बनाएको छ। गीतलाई शैलेश गिरीले रचना गरेका हुन्।
यो गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबीचको सहकार्यमा सिर्जना गरिने १२ वटा गीतमध्ये एक रहेको बताइएको छ।
संगीत क्षेत्रमा नेपालको अग्रणी संस्था म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभाहरूलाई अवसर दिने सम्झौताअनुरूप यो गीतको सिर्जना गरिएको म्युजिक नेपालले बताएको छ। यस गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन्।
'लैजाउ कि कतै मलाई' म्युजिक नेपालका आधिकारिक च्यानलहरूमा उपलब्ध छ।