लोकगायक अर्जुन सापकोटाको 'झलिको' गीतले छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ।
गत मंगलबार बेलुका सार्वजनिक गीतको म्युजिक भिडिओलाई शनिबार दिउँसोसम्म युट्युबमा २० लाखपटक हेरिएको हो। टिकटक, रिल्स लगायतका प्लेटफर्ममा समेत गीत भाइरल बनेको छ।
यसअघि 'पछ्यौरी लिसियो', 'बस्यौ अलक्कै', 'दुख साटम्ला' जस्ता गीतबाट चिनिएका अर्जुनको 'झलिको' गीत कम समयमै हिट बनेको हो। गीतमाथि थुप्रै सेलिब्रेटीहरूले समेत रिल्स तथा टिकटक भिडिओ बनाएका छन्।
गीतबाट माया पाइरहेकोमा खुसी साट्दै अर्जुनले थप ऊर्जा मिलेको बताए।
'गीतमा अलि पहिल्यैदेखि मेहनत गरेका थियौं। रूचाउनुहुन्छ भन्ने अपेक्षा त थियो', उनले भने, 'तर छोटो समयमा यति धेरै रूचाइन्छ भन्ने चाहिँ सोचेको थिइनँ।'
संगीत मात्र नभएर फिल्मसहित अन्य क्षेत्रका व्यक्तिहरूबाट समेत राम्रो प्रतिक्रिया पाउँदा आगामी दिनमा अझ राम्रो सिर्जना ल्याउन प्रेरित गरेको उनले बताए।
यो गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीले स्वर दिएका छन्। शब्द रचना सन्तोष सापकोटाको हो भने अर्जुन स्वयंको संगीत छ। कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका हुन्। गीतमा प्रदीप रोदनको कविता वाचन समेत स्रोता दर्शकले सुन्न सक्छन्।
'झलिको' एक प्रेम जोडीको कथा पेश गर्ने प्रेमिल गीत हो। भिडिओमा वैदेशिक रोजगारबाट फर्किँदै गरेको प्रेमी र गाउँमा प्रतिक्षारत प्रेमिकाको कथालाई रोचक ढंगले देखाइएको छ। प्रेमगीत भए पनि यसको भिडिओमा वैदेशिक रोजगारीको कारूणिक पाटोलाई
देखाइएको छ। अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य भिडिओमा देख्न सकिन्छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतको पनि अभिनय छ।
भिडिओको कथा दीपा सिंखडा र विशाल घिमिरेको आइडियामा तयार पारिएको हो भने निर्देशन विशालले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओमा बुद्ध थापाको छायांकन र दिन्शन शाहको सम्पादन छ।