सन् २०१३ मा रिलिज भएको 'जली एलएलबी' को आखिरी दृश्यमा एउटा संवाद छ, जसमा न्यायाधीश बनेका सौरभ शुक्ला भन्छन् —
'मुद्दाको पहिलो सुनुवाइमै मलाई थाहा हुन्छ, अपराधी को हो? म यहाँ इजलासमा बसिरहन्छु, र प्रमाणको प्रतीक्षा गरिरहन्छु। प्रमाण आज आउला, भोलि आउला भन्दाभन्दै कयौं वर्ष बित्छ। फाइलको चाङ लाग्छ। तर एउटा पनि यस्तो कागज मेरो अगाडि आउँदैन, जसलाई म सही मानेमा प्रमाण मान्न सकूँ। प्रमाण आउँदैन, अपराधी छुटेर जान्छन्।'
सन् २०१७ मा यही फिल्मको दोस्रो भाग रिलिज भयो, 'जली एलएलबी–२' जसको आखिरी दृश्यमा न्यायाधीश बनेका सौरभ शुक्ला भन्छन् —
'हामीकहाँ न्यायपालिकाको हालत यस्तै छ। अँध्यारो र गनाउने कोठा, जसलाई अदालतको इजलास भनिन्छ। यहाँ हामीजस्ता न्यायाधीशलाई त आउने मन हुँदैन भने आमजनता कसरी आउँछन्?'
'यो देशमा कुल मिलाएर न्यायाधीश कति छन्, २१ हजार। मतलब, एक लाख जनताका लागि एक न्यायाधीश। तारिखमाथि तारिख थपिँदै जान्छन्। मान्छे आइरहन्छन्, निराश भएर फर्किरहन्छन्। तर आज पनि कहीँ दुई जनाको झगडा भयो भने वा विवाद भयो भने उनीहरू एकअर्कालाई भनिरहेका हुन्छन् —आई विल सी यू इन कोर्ट! किन भन्छन् यस्तो? किनकि, आज पनि जनता भरोसा गर्छन् न्यायपालिकामाथि।'
'उनीहरूलाई भरोसा हुन्छ, यदि सरकारले उनीहरूको कुरा सुनेन भने, वा प्रशासनले उनीहरूको कुरा सुनेन भने, वा प्रहरीले उनीहरूको कुरा सुनेन भने, उनीहरूको कुरा अदालतले सुन्नेछ।'
अदालतको इजलासभित्र हुने बहसमा केन्द्रित यी दुवै 'कोर्टरूम' ड्रामामा न्यायाधीश सुन्दरलाल त्रिपाठीको भूमिका सौरभ शुक्लाले गरेका भए पनि वकिल जगदीश्वर उर्फ जलीको भूमिका फरक फरक अभिनेताले गरेका छन्।
पहिलो भागमा अर्शद वारसी जगदीश्वर त्यागी (जली) को भूमिकामा देखिएका छन् भने दोस्रो भागमा जगदीश्वर मिश्रा (जली) बनेका छन्, अक्षय कुमार।
सोच्नुस् त, यी दुवै जली अर्थात् जगदीश्वर त्यागी र जगदीश्वर मिश्रा अदालतको एउटै इजलासमा उभिएर एकअर्काविरूद्ध बहस गरे कस्तो होला?
अनि न्यायाधीश होस् उनै सुन्दरलाल त्रिपाठी!
हो, यो वर्षको एक बहुप्रतीक्षित फिल्म 'जली एलएलबी–३' मा यी तीनै जना पात्र अदालतको इजलासमा सँगसँगै देखिँदै छन्।
सुभाष कपुरले निर्देशन गरेको यो कोर्टरूम शृंखलाको तेस्रो संस्करण शुक्रबार भारतसहित नेपालका सिनेमा हलहरूमा पनि रिलिज भएको छ।
अघिल्ला दुई भागजस्तै तेस्रो भागले पनि न्यायको लडाइँ र न्यायपालिकाको सर्वोच्चतालाई केन्द्रमा राखेको छ।
सुभाष कपुरले सामाजिक सन्देश, हास्य, कोर्टरूम ड्रामा र भावनात्मक दृश्यलाई सन्तुलित ढंगले प्रस्तुत गर्न खोजेका छन्। तर जहाँसम्म विषयवस्तुको कुरा छ, त्यो अघिल्ला भागहरूको तुलनामा कमजोर छ।
यसपालि जुन विषय उठान गरिएको छ, त्यसमा खासै नयाँपन छैन। बलिउडले यही विषयलाई केन्द्रमा राखेर धेरै फिल्म बनाइसकेको छ।
फिल्मको कथा राजस्थानको पारसौल गाउँमा आधारित छ। किसान राजाराम सोलंकीले आफ्नो पुर्ख्यौली जग्गा उद्योगपति हरिभाइ खेतानलाई बेच्न अस्वीकार गर्छन्। स्थानीय अदालतले न्याय नदिँदा उनी आत्महत्या गर्न बाध्य हुन्छन्।
केही वर्षपछि उनकी विधवा पत्नी न्यायको खोजीमा दिल्ली आउँछिन्, जहाँ उनको सामना दुई जलीहरू — अक्षय कुमार र अर्शद वारसी — सँग हुन्छ।
फिल्मको सुरूआतमा यी दुई जलीहरूबीच प्रतिस्पर्धा देखिन्छ। पछि दुवैले मिलेर गरिब किसानहरूलाई न्याय दिने काम गर्छन्।
यो फिल्मले गरिब किसानहरू आफ्नो घर र जग्गाबाट कसरी वञ्चित हुँदैछन्, र शक्ति र पैसाको आडमा व्यवसायीहरू आफ्नो स्वार्थका लागि कानुन र प्रशासन कसरी दुरूपयोग गर्छन् भनेर चित्रण गरेको छ। यो बलिउडका लागि आफैमा बासी विषय हो।
यति हुँदाहुँदै हास्य, कोर्टरूम ड्रामा र भावनात्मक दृश्यको मिश्रणले दर्शकलाई मनोरञ्जन चाहिँ पक्कै दिन्छ। किसान आत्महत्याबारे फेरि एकचोटि सोच्न बाध्य पनि बनाउँछ।
फिल्ममा अक्षय कुमार र अर्शद वारसीको कमेडी र अभिनय राम्रो छ। तर अघिल्ला भागजस्तै यसपालि पनि फिल्मको आत्मा भनेका न्यायाधीश सुन्दरलाल त्रिपाठी अर्थात् सौरभ शुक्ला नै हुन्। यसपटक पनि उनले आफ्नो फिटनेस, डेटिङ एप र रोमान्टिक दृश्यहरूबाट दर्शकलाई हसाउँछन्।
यी तीन जना प्रमुख पात्र आफ्नो अभिनयद्वारा फिल्मलाई बाँधेर राख्न सफल छन्।
पहिलो भागकी अमृता राव र दोस्रो भागकी हुमा कुरैशी पनि फिल्ममा देखिएकी छन्। यसबाहेक सीमा विश्वास, गजराज राव र राम कपुर लगायत कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
फिल्ममा हास्य र गम्भीरताको मिश्रण सन्तुलित भए पनि सुरूआतमा कथा अलिकति ढिलो अगाडि बढ्छ। टर्निङ प्वाइन्टहरू कम हुँदा बेला बेला दर्शक बोर हुन्छन्। केही गीत र पट्टयारलाग्दा दृश्यले पनि फिल्मको गति सुस्त बनाएको छ।
मध्यान्तरपछि फिल्मले गति समात्छ। अदालतमा चल्ने मुद्दा र क्लाइमेक्सको दृश्यले दर्शकहरूलाई पूर्ण रूपमा डुबाइदिन्छ।
दुई जलीहरूको प्रारम्भिक प्रतिस्पर्धा, हास्यपूर्ण संवाद र अदालतको क्लाइमेक्सले भरपुर मनोरञ्जन पनि दिन्छ।
फिल्मका गीत स्मरणीय नभए पनि ब्याकग्राउन्ड संगीत कथाको भावअनुसार उपयुक्त छ। हास्य र कोर्टरूम ड्रामा सन्तुलित राख्नु निर्देशक र सम्पादकको खुबी हो। तर पट्यारलाग्दा दृश्य हटाएर फिल्मको गति बढाउनमा दुवै चुकेका छन्।
समग्रमा 'जली एलएलबी–३' सामाजिक, हास्यपूर्ण र संवेदनशील फिल्म हो। भारतमा यसको व्यावसायिक सुरूआत भने अघिल्ला दुई भागको दाँजोमा खासै सन्तोषजनक छैन।
***