'बाहुबली', 'आरआरआर' जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौलीको आगामी फिल्म 'वाराणसी' मा सुपरस्टार महेश बाबुको मेहनत र लगनशीलताको निकै चर्चा भइरहेको छ।
निर्देशक राजामौलीले पनि महेश बाबुको खुलेर प्रशंसा गरेका छन्। महेश बाबु सुटिङका क्रममा लगातार आठ घण्टा काम गर्ने र यस बीचमा आफ्नो फोन समेत नछुने निर्देशक राजामौली बताउँछन्।
हैदरावादस्थित रामोजी फिल्म सिटीमा आयोजित कार्यक्रमका क्रममा एसएस राजामौलीले महेश बाबुको खुलेर तारिफ गरे।
उनले भने, 'महेश बाबुको चरित्रमा केही खास कुरा छ, जुन सबैले सिक्नुपर्ने खालको छ। जब महेश बाबु अफिस वा सुटिङमा आउँछन्, उनी आफ्नो फोन छुँदैनन्। आठ घण्टा काम गर्छन् र घर जाने बेला मात्र फोन हेर्छन्। यो गुण सबैका लागि एउटा पाठ हो।'
यो आठ घण्टाको सिफ्टको विषयलाई अभिनेत्री दीपिका पादुकोणसँग पनि जोडेर हेरिएको छ।
फिल्म 'वाराणसी' मा महेश बाबुको लुक्स र भूमिका निकै फरक तथा दमदार हुने बताइएको छ। प्राप्त जानकारी अनुसार, उनको यो भूमिका ‘हनुमान’ बाट प्रेरित हुनेछ।
एसएस राजामौलीले सधैझैं यस फिल्ममा पनि केही नयाँ र भव्य गर्ने प्रयास गरेका छन्।
'वाराणसी' को कथा र एक्सन सिक्वेन्सलाई लिएर दर्शकमा उत्साह छ। फिल्ममा महेश बाबुका साथै प्रियंका चोपडा र पृथ्वीराज सुकुमारनले पनि मुख्य भूमिका निर्वाह गर्दैछन्। यो फिल्म सन् २०२७ मा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।