बलिउड अभिनेत्री अनित पड्डाले 'सैयारा' को सफलतापछि अर्को ठूलो प्रोजेक्ट साइन गरेकी छन्। २२ वर्षीया अनित 'न्याय' नामक कोर्टरूम ड्रामामा देखिने भएकी हुन्। जहाँ उनले न्यायका लागि लडिरहेकी एक युवा पीडितको भूमिका निभाउनेछिन्।
यो फिल्ममा फातिमा सना शेख र अर्जुन माथुरको पनि अभिनय रहेनछ। कानूनी लडाईको पृष्ठभूमिमा आधारित रहने फिल्मले साहस र सत्यका विषयवस्तुहरूलाई समेटने जनाइएको छ। भारतीय संचारमाध्यमका अनुसार फिल्ममा अनितको चरित्र कथाको केन्द्रबिन्दुमा रहनेछ।
फिल्मको निर्देशन नित्या मेहराले गर्नेछिन्। जो 'बार बार देखो' र 'मेड इन हेभन' जस्ता प्रोजेक्टहरूका लागि चिनिन्छिन्। उनले आफ्ना पति करण कपाडियासँग मिलेर यस फिल्मको निर्देशन गर्नेछिन्।
यो जोडीको अनितसँग 'बिग गल्र्स डोन्ट क्राइ' नामक शो पछि दोस्रो सहकार्य हुनेछ।
अनितका लागि 'न्याय' यशराज फिल्म्सद्वारा निर्मित फिल्म 'सैयारा' भन्दा निकै फरक छ। 'सैयारा' ले उनलाई हल्का र युवा भूमिकामा प्रस्तुत गरेको थियो भने, 'न्याय' ले उनलाई परिपक्व, कडा र गहिरो भावना र सामाजिक यथार्थहरूसँग जुध्ने भूमिकामा देखाउने जनाइएको छ।
फिल्म 'सैयारा' ले बक्सअफिसमा आक्रामक कमाई गरेको थियो। नेपालमा पनि बम्पर कमाइ गरेको फिल्म ओटीटीमा पनि दर्शकहरूले मन पराएका छन्।
'सैयारा' को सफलतापछि अनित घुमघामका लागि नेपाल समेत आएकी थिइन्।