भारतीय फिल्म 'सन अफ सरदार २' ले कमाइमा अर्को फिल्म 'धडक २' लाई धेरैले पछि पारेको छ।
गत शुक्रबार एकसाथ रिलिज 'सन अफ सरदार २' ले 'धडक २' को भन्दा दोब्बर बढी कमाएको हो।
भारतीय संचारमाध्यमका अनुसार 'सन अफ सरदार २' ले पहिलो चार दिनमा सोमबारसम्म भारतमा २७ करोड २५ लाख भारू नेट कमाइ गरेको छ। सोही समयमा 'धडक २' को कमाइ १२ करोड ८० लाख भारू छ।
अजय देवगनको प्रतीक्षित फिल्म मानिएको कमेडी ड्रामा 'सन अफ सरदार २' ले पहिलो दिन ७ करोड ५० लाख भारू कमाएको थियो। फिल्मले शनिबार ८ करोड २५ लाख, आइतबार ९ करोड २५ लाख र सोमबार २ करोड ५० लाख कमाएको हो।
त्यस्तै, करण जोहर निर्मित 'धडक २' ले शुक्रबार ३ करोड ५० लाख कमाएको थियो। फिल्मले शनिबार ३ करोड ७५ लाख, आइतबार ४ करोड १५ लाख र सोमबार १ करोड ४० लाख कमाएको हो।
'सन अफ सरदार २' को कुरा गर्दा यसमा अजयसहित मृणाल ठाकुर, रवि किशन, सञ्जय मिश्रालगायत कलाकारहरू छन्। विजय कुमार अरोराले निर्देशन गरेको यो फिल्म जियो स्टुडिओ र देवगन फिल्मस्ले प्रस्तुत गरेको हो भने अजय देवगन र ज्योति देशपाण्डे निर्माता हुन्।
त्यस्तै, 'धडक २' सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरी अभिनीत लभस्टोरी फिल्म हो। यसलाई जी स्टुडिओ, धर्मा प्रोडक्सन र क्लाउड ९ पिक्चर्सले प्रस्तुत गरेको हो। शाजिया इकबालको निर्देशन रहेको फिल्म करण जोहरसहितले निर्माण गरेका हुन्।
यी दुवै फिल्म नेपालका सिनेमा हलमा पनि एकसाथ प्रदर्शन भइरहेका छन्।