भारतीय फिल्म 'धडक २' ले भन्दा 'सन अफ सरदार २' ले दोब्बर बढी कमाइ गरेको छ। यी दुवै फिल्म सिनेमा हलमा 'सैयारा' को दबदबाकाबीच गत शुक्रबार एकसाथ रिलिज भएका हुन्।
अजय देवगनको प्रतीक्षित फिल्म मानिएको 'सन अफ सरदार २' ले पहिलो तीन दिनमा भारतमा २४ करोड ७५ लाख भारू कमाइ गरेको छ। त्यस्तै, करण जोहर निर्मित 'धडक २' ले सोही समयमा ११ करोड कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सन २०१२ मा 'सन अफ सरदार' रिलिजको १३ वर्षपछि आएको 'सन अफ सरदार २' ले पहिलो दिन ७ करोड ५० लाख भारू कमाएको थियो।
यो कमेडी ड्रामा फिल्मले शनिबार ८ करोड २५ लाख र आइतबार ९ करोड २५ लाख कमायो।
त्यस्तै, सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरी अभिनीत लभस्टोरी फिल्म 'धडक २' ले शुक्रबार ३ करोड ५० लाख कमाएको थियो। शनिबार ३ करोड ७५ लाख कमाएको फिल्मले आइतबार ४ करोड २५ लाख भारू कमायो।
'सन अफ सरदार' को कुरा गर्दा यसमा अजयसहित मृणाल ठाकुर, रवि किशन, सञ्जय मिश्रालगायत कलाकारहरू छन्। विजय कुमार अरोराले निर्देशन गरेको यो फिल्म जियो स्टुडिओ र देवगन फिल्मस्ले प्रस्तुत गरेको हो भने अजय देवगन र ज्योति देशपाण्डे निर्माता हुन्।
त्यस्तै, 'धडक २' लाई जी स्टुडिओ, धर्मा प्रोडक्सन र क्लाउड ९ पिक्चर्सले प्रस्तुत गरेको हो। शाजिया इकबालको निर्देशन रहेको 'धडक २' पनि हिट फिल्मको सिरिज हो। करण जोहरसहितले यसलाई निर्माण गरेका हुन्।
'सन अफ सरदार २' र 'धडक २' दुवै फिल्म नेपालका सिनेमा हलमा पनि प्रदर्शन भइरहेका छन्।