पछिल्लो समय बलिउड फिल्म 'हेरा फेरी ३' सर्वाधिक चर्चामा छ। अभिनेता परेश रावलले फिल्म छाडेपछि चर्चासँगै विवाद भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अक्षय कुमारको प्रोडक्सन कम्पनीले परेशमाथि २५ करोड भारूको कानूनी नोटिस पठाएका थिए। हालै परेशका वकिलले अक्षयले फिल्मको स्क्रिप्ट नदिएको आरोप लगाएका छन्।
अब अक्षयले यसबारे खुलेर कुराकानी गरेका छन्। उनले आगामी फिल्म 'हाउसफुल ५' को ट्रेलर लन्चमा परेश रावलले 'हेरा फेरी ३' छाडेको बारेमा पहिलो पटक आफ्नो प्रतिक्रिया दिएका हुन्।
'सबैभन्दा पहिला म तपाईहरूसँग उहाँको लागि राम्रो शब्द प्रयोग गर्न अनुरोध गर्छु। उहाँको लागि म बेवकुफ कुरा सुन्न सक्दिनँ। म पछिल्लो ३०-३२ वर्षदेखि उहाँसँग काम गर्दै आएको छु। हामी निकै राम्रो साथी हौं। उहाँ निकै राम्रो कलाकार हुनुहुन्छ। उहाँले फिल्म छाडेको बारेमा कुरा गर्न मलाई उचित लाग्दैन। किनकी यो गम्भिर मामिला हो। यो यस्तो मामिला हो जुन अदालतमै सुध्रिन सक्छ। त्यसैले यहाँ कुरा गर्नु ठिक होइन,' उनले भनेका छन्।