पछिल्लो समय भारतमा पिरियड ड्रामा फिल्मको क्रेज बढेको छ।
बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म 'छावा' को सफलतापछि यस्तै फिल्म बनाउने होडबाजी भएको हो। यसैबीच रितेश देशमुखको आगामी फिल्म 'राजा शिवाजी' को नाम सामेल भएको छ।
निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन्। यो फिल्म सन् २०२६ मे १ मा प्रदर्शन हुनेछ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार हाल फिल्मको मेकिङमा काम भइरहेको छ।
फिल्ममा रितेशसँगै अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, भाग्यश्री, जितेन्द्र जोशी, अमोल गुप्ते, जेनेलिया देशमुख लगायत कलाकारको अभिनय रहनेछ। फिल्ममा रितेश छत्रपति शिवाजी महाराजको भूमिका निर्वाह गर्दैछन्।
यो फिल्म मराठी बाहेक हिन्दी सहित अन्य भाषामा पनि रिलिज हुनेछ। फिल्मलाई रितेश देशमुख स्वयंले निर्देशन गर्नेछन्।