बलिउडका चर्चित सिक्वेल मध्ये एक हो फिल्म 'हेरा फेरी'। 'हेरा फेरी' को पहिलो भाग सन् २००० मा प्रदर्शन भएको थियो भने सन् २००६ मा यसको दोस्रो भाग 'फिर हेरा फेरी' प्रदर्शन भयो।
दुवै संस्करणमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीलाई दर्शकले निकै मन पराएका थिए। लामो समयदेखि दर्शक यसको तेस्रो भागको पर्खाइमा थिए। अब यस फिल्मको तेस्रो पार्टको तयारी सुरू भएको छ। तर परेश रावलले फिल्म छाडेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्म छाडेपछि परेशमाथि मेकर्सले २५ करोड भारूको उजुरी दर्ता गरेका छन्। हालै परेशले फिल्म छाड्नुको कारण खुलाएका छन्।
'यो फिल्म मैले नै छाडेको हुँ। म सधैं भन्छु कि कुनै कुराको लागि हुँदैन भन्नु हुँदैन। भविष्यमा के हुन्छ, केही अनुमान लगाउन सकिदैन। प्रियदर्शन मेरो लागि निकै प्रिय छन्। निर्देशकको रूपमा उनलाई निकै सम्मान गर्छु। हामीले पहिला पनि एकसाथ राम्रा फिल्ममा काम गरेका छौं। उनीसँग मेरो कुनै मतभेद भएको छैन। मेरो लागि पैसाभन्दा दर्शकको माया र सम्मान ठूलो हो। तर मलाई यो भूमिका अझै गर्न मन छैन,' उनले भनेका छन्।