बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'केसरी २' र अजय देवगनको फिल्म 'रेड २' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार ३१ दिनमा 'केसरी २' ले ९० करोड ८१ लाख भारू कमाएको छ भने १८ दिनमा 'रेड २' ले १४९ करोड भारू कमाएको छ।
करण सिंह त्यागी निर्देशित फिल्म 'केसरी २' मा अक्षयसँगै आर. माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ। फिल्ममा अक्षय कुमारले सर सि. शंकरन नायरको भूमिका निर्वाह गरेका छन्।
'केसरी' को सफलतापछि निर्माण टिमले यसको दोस्रो च्याप्टर बनाएका हुन्। फिल्ममा पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ मा १३ अप्रिल भएको हत्याकाण्ड देखाइएको छ।
राजकुमार गुप्ता निर्देशित फिल्म 'रेड २' मा अजय देवगन, रितेश देशमुख, वाणी कपूर, सौरव शुक्ला, रजत कपूर, रवीना टन्डनलगायत कलाकारको अभिनय छ।
यो सन् २०१८ मा आएको फिल्म 'रेड' को सिक्वेल हो।