बलिउड अभिनेता सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्तिको नाम सार्वजनिक भएको छ।
प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन राख्दै आरोपीलाई शनिबार राति २ बजे ठाणेबाट पक्राउ गरेको बताएको छ। प्रहरीका अनुसार आरोपीको वास्तविक नाम मोहम्मद शरीफुल इस्लाम शहजाद हो। उनी ३० वर्षका हुन्। भारतमा उनी विजय दास नाम राखेर बस्दै आएको बताइएको छ। उनी ६ महिनाअघि मुम्बईमा आएका थिए।
मोहम्मद हाउसकिपिङ एजेन्सीमा काम गरिरहेका थिए। उनी पहिलो पटक सैफ अली खानको अपार्टमेन्टमा गएका थिए। आरोपी सैफको घरमा चोरी गर्ने नियतले प्रवेश गरेको बताइएको छ। सैफमाथि सोही अभियुक्तले आक्रमण गरेको हो वा होइन भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन।
उनीसँग भारतको कुनै पनि वैध कागजात छैन। उनको साथबाट फेला परेको कुराका आधारमा उनी बंगलादेशी भएको आशंका गरिएको छ।
प्रहरीले अभियुक्तलाई आज अदालतमा पेश गरी हिरासतमा राखेर अनुसन्धान गरिने जनाएको छ। यसअघि शनिबार प्रहरीले छत्तीसगढको दुर्गबाट एकजना संदिग्धलाई पक्राउ गरेको थियो। प्रहरीले हालसम्म करिब ५० जनालाई सोधपुछ गरिसकेको छ।
१५ जनवरीमा राति २ बजे सैफ अली खानमाथि छुरा प्रहार भएको थियो। यस हमलामा अभिनेता सैफको जिउमा ६ वटा चोट लागेको छ। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरज उत्तमानीले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।