दुधे युथ क्लवको आयोजनामा असोज ४ गतेदेखि हुने दुधे गोल्डकपको तयारी तिब्र पारिएको छ।
गोल्डकपलाई भव्य रूपमा सम्पन्न गर्न यतिवेला शिवसताक्षी नगरका युवालाई भ्याई नभ्याई छ। प्रतियोगिता सम्पन्न गर्न नगरका शिवगञ्ज, दुधे, झिलझिले, माईधार, धरमपुर, डुडामारी, मंगलबारे पाँचगाछि, जनता बजार लगायतका बजारमा प्रचार प्रसार तिव्र पारिएको छ भने आर्थिक सहयोग संकलनले पनि गति लिएको छ।
प्रचार प्रसार र दर्शकका लागि वेम्वो प्याराफिट निर्माण धमाधम भईरहेको दुधे युथ क्लव तथा दुधे गोल्डकप मुल आयोजक समितिका अध्यक्ष शन्तोष थोप्राले बताए। ‘प्याराफिट निर्माणको ४० प्रतिशत काम भईसकेको छ, भदौको अन्तिम सम्म प्याराफिट निर्माण सकिने छ,’ उनले भने।
असोज ११ गते सम्म दुधेको खेलमैदानमा हुने प्रतियोगीता हेर्न आउने दर्शकका लागि आर्कषक डिजाईनका स्वागतद्धार निर्माण हुने छन्। आयोजकका अनुसार पूर्व-पश्चिम राजमार्गको कमल पुल र कन्काई पुलमा स्वागतद्धार निर्माण हुने छन् भने खेल मैदानमा एउटा स्वागतद्धार निर्माण हुने आयोजक समितिले जनाएको छ।
यस अघिनै खेलमैदानको चारै दिसामा तारको घेराबारा भएको थियो, त्यो वाहेक खेल मैदान भित्र र बाहिर सरसफाई, खेलमैदान मर्मत, रंङरोगन र अस्थायी प्याराफीट बनाउने काम धमाधम भइरहेको थोप्राले जानकारी दिए।
आयोजकले मैदानको चारै दिसामा वेम्वो प्याराफिट बनाउने भएको छ। ‘भिआईपी गेष्टका लागि स्टेप वाई स्टेपको बक्स स्टेज निर्माण हुने भएको छ। पूर्वका गोल्डकपमा यस्तो स्टेज निर्माण भएका छैनन्’, थोप्राले भने, ‘दुधे गोल्डकपले प्रतियोगितामा केही नयाँपन दिन खोजिएको छ। दर्शक र अतिथिका लागि मैदान परिसरमा शःसुल्क क्यान्टिनसमेत सञ्चालन हुनेछ।’
प्रतियोगितामा आयोजकले ३६ लाखको खर्च हुने अनुमान गरेको छ। प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ।
अहिलेसम्म करिब १० लाख रूपैयाँ संकलन भएको प्रतियोगिताका आर्थिक विभाग प्रमुख यामनाथ काफ्लेले बताए। उनले भने, ‘शिवसताक्षी नगरबाट वैदेशिक रोजगारमा जाने युवाको दुधे गोल्डकपका लागि आर्थिक रूपमा वलियो साथ छ।’
प्रतियोगिताको विजेताले ३ लाख १ हजार नगदसहित ट्रफी तथा उपविजेताले १ लाख ५१ हजार सहित मेडल ट्रफि र प्रमाण पत्र पाउने छन्।
दुई विभागीय त्रिभुवन आर्मी, एपिएफसहित रूपन्देहि ११, हिमालयन शेर्पा, झापा ११, मोरङ ११, चर्च व्वाईज र दुधे युथ क्लवले प्रतियोगितामा सहभागी हुन्छन्।