नेपाली अल्ट्रा धाविक सुनमाया बुढा आइतबार नगदसहित सम्मानित भएकी छिन्।
नेपाल एडभेन्चर रनिङ महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रिय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गर्यो ।
सुनमायाले केही समयअघि स्पेनमा भएको वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी थिइन् । उनले महिला लङ डिस्ट्यान्सको ८२ किलोमिटर दूरीमा रजत जितेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कार्यकारी समितिका सदस्य समेत रहेका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीले एक कार्यक्रमबीच सुनमायालाई नगद र प्रशंसा पत्र प्रदान गरे ।
अध्यक्ष कुँवरले विश्वमै उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फहराउन सफल सुनमायालाई प्रोत्साहन स्वरुप सहयोग गरेको बताउदै नियम अनुसार सरकारले गर्ने सम्मानका लागि पहल भइरहेको बताए ।
सुनमायाले महमासंघबाट सम्मान पाउँदा खुशी व्यक्त गर्दै यस खालको सम्मानले खेलाडीहरुलाई प्रेरित गर्ने बताइन् ।
सुनमायाले जितेको पदक नेपालबाट कुनै पनि खेलाडीले वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको पहिलो पटक भएको महासंघले जनाएको छ । च्याम्पियनसिपमा सुनमायासँगै नेपालबाट सुमन कुलुङ राई, मनकुमार मगर र साङ्गे शेर्पाले पनि सहभागिता जनाएका थिए ।
सुनमायाले यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने अल्ट्रा ट्रेल १०० किलोमिटर दूरीको रेसमा पनि प्रतिस्पर्धा गर्दै छिन् । उनी आइतबारै त्यसतर्फ प्रस्थान गर्ने छिन् । महासंघले सुनमायालाई उक्त रेसमा पनि उत्कृष्ट प्रदर्शन गर्नका लागि शुभकामना दिएको छ ।