शुक्रबार बिहान त्रिवि क्रिकेट मैदान पुग्दा कोही पिचमा रोलर लगाइरहेका थिए। कोही स्टेज बनाइरहेका थिए, कोही ड्रेसिङ र डाइनिङ रूमको सरसफाइमा व्यस्त थिए।
शनिबार पौने १ बजे यो मैदानमा एभरेष्ट प्रिमियर लिग (इपिएल) पहिलो खेल हुँदैछ।
‘यो इपिएलको दोस्रो संस्करण हो, तर यसपालि धेरै कुरा नेपाली क्रिकेटमा पहिलो पटक हुँदैछन्,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले सेतोपाटीसँग भने, ‘मैदानमा आउने र टिभीमा हेर्ने दुबै दर्शकलाई अन्तर्राष्ट्रियस्तरको खेल हेरेको अनुभुति हुने गरी तयारी गरिरहेका छौं।’
त्यसका लागि खेलाडी,कमेन्टेटर, चियरलिडर्स र प्राविधिक पनि विदेशबाट ल्याइएको उनले बताए।
धनगढी र पोखराका प्रिमियर लिगमा पनि विदेशी खेलाडी सामेल भएका थिए तर विश्वक्रिकेटमा चर्चित भइसकेका खेलाडी आएका थिएनन्।
इपिएल यो संस्करणमा स्कटल्याण्डदेखि दक्षिण अफ्रिकाका राष्ट्रिय टिमका खेलाडी आउँदैछन्।
६ वटा फ्रेन्चाइज टोलीले २२ जना विदेशी खेलाडी अनुबन्धन गरेका छन्।
तीमध्ये पोखरा राइनोजमा दक्षिण अफ्रिकाका रिचर्ड लेभी छन्।
उनी क्रिकेट खेल्न पहिलो पटक नेपाल आएका हुन्। दायाँहाते ब्याट्सम्यान लेभीले दक्षिण अफ्रिकाका लागि १३ वटा टी-ट्वान्टी खेलिसकेका छन्।
उनले अन्तर्राष्ट्रिय टी-ट्वान्टी सबैभन्दा कम बलमा सतकको विश्व रेकर्ड बनाएका थिए।
२०१२ को फेब्रुअरीमा आफ्नो दोस्रो अन्तर्राष्ट्रिय म्याच खेल्दै उनले न्युजिल्याण्डविरूद्ध ४५ बलमा सय रन हानेका थिए। उनको यो रेकर्ड झन्डै पाँच वर्ष कायम रह्यो। गत वर्ष दक्षिण अफ्रिकाकै डेभिड मिलरले ३५ बलमा सतक हानेर लेभीको रेकर्ड तोडे। अझै पनि मिलर र ३५ बलमै सतक हानेका भारतका रोहित शर्माले मात्र उनीभन्दा कम बल खेलेर सतक हान्ने ब्याट्सम्यान हुन्।
एकदिवसीय विश्वकपमा सबैभन्दा कम बलमा सतकको रेकर्ड बनाएका आयरल्याण्डका आक्रामक अलराउन्डर केभिन ओब्राइन काठमाडौं किंग्सबाट इपिएल खेल्दैछन्।
सन् २०११ को विश्वकपमा यी दायाँहाते ब्याट्सम्यानले ५० बलमा सतक हान्दै इंग्ल्याण्डविरूद्ध आयरल्याण्डलाई सनसनीपूर्ण जित दिलाएका थिए। विजयका लागि ३२८ रन पछ्याउँदा १०६ रनमा ४ विकेट झरेपछि २३औं ओभरमा क्रिजमा आएका ओब्राइनको त्यो प्रदर्शनलाई विश्वकप इतिहासकै यादगार पारीहरूमध्ये मानिन्छ।
त्यस्तै नेदरल्याण्ड्सका अलराउन्डर रायन टेन डेस्काटा पनि क्रिकेट खेल्न नेपाल आएका छन्। दायाँहाते ब्याट्सम्यान टेनडेस्काटाले गतसालको उपविजेता भैरहवा ग्लाडिएटर्सबाट खेल्दैछन्।
एसोसियट राष्ट्रबाट इन्डियन प्रिमियर लिग खेल्ने पहिलो खेलाडी टेनडेस्काटालाई टेस्ट राष्ट्रबाहिरको इतिहासकै राम्रो ब्याट्सम्यान मानिन्छ।
उनले ३३ एकदिवसीय म्याचमा ५ सतकसहित १५४१ रन बनाएका छन्। २०११को विश्वकपमा उनले इंग्ल्याण्डविरूद्ध ११९ रन हानेका थिए।
कम्तिमा २० वटा एकदिवसीय म्याच खेलेका ब्याट्सम्यानहरूमा ६७ रनको औसतका साथ उनी अझै पनि सबैभन्दा माथि छन्।
दोस्रोमा रहेका भारतीय कप्तान विराट कोहलीको औसत ५९.८३ रन छ।
टेनडेस्काटाले प्रथम श्रेणी क्रिकेटमा १० हजार रनको कोशेढुंगा पनि पार गरेका छन्।
पोखरा राइनोजको कप्तानी नै यसपालि स्कटल्याण्डको राष्ट्रिय टोलीका कप्तान कायल कोएट्जरले सम्हालेका छन्। दायाँ हाते ब्याट्सम्यान कोएट्जरले डर्हम र नर्थह्याम्पटनसायरका तर्फबाट इंग्लिस काउन्टी पनि खेलिसकेका छन्।
पहिलोचोटी २०१३ मा कप्तानी सम्हालेका कोएट्जरले २०१५ को विश्वकपमा स्कटल्याण्डका तर्फबाट सर्वाधिक २५३ रन हानेका थिए। सोही विश्वकपमा टेस्ट राष्ट्र बंगलादेशविरूद्ध उनले १५६ रन बनाएका थिए।
‘एसोसियट राष्ट्रहरूका धेरै खेलहरू नभएकाले हामी खाली नै हुन्छौं,’ कोएट्जरले सेतोपाटीसँग भने, ‘त्यही समयमा नेपाली क्रिकेटको विकासमा सहभागी भई योगदान दिन यहाँ आएको छु।’
आयरल्याण्डका ओपनिङ ब्याट्सम्यान पउल स्टर्लिङ पनि इपिएल खेल्न आएका छन्।
पाकिस्तानविरूद्ध एकदिवसीय सतक हानिसकेका दायाँहाते ब्याट्सम्यान स्टर्लिङ चितवनका तर्फबाट खेल्ने छन्।
विश्व क्रिकेटका रेकर्ड ब्रेकर खेलाडी कसरी आए त इपिएल खेल्न?
‘हामीले धेरै खेलाडी अप्रोच गरेका थियौं, तीमध्ये केहीले जवाफ फर्काउनुभयो,’ पोखरा राइनोजको मालिक शंकर ग्रुपकी दीपा अग्रवालले भनिन्,‘पैसाले त हामी के किन्न सक्थ्यौं र नेपालमा क्रिकेटको क्रेज देखेर उहाँहरू आउनुभयो। हामीले उहाँहरूको पारिश्रमिकको तुलना थोरैमात्र पैसा दिएका छौं।’
इपिएलका निर्देशक अख्तरले खेलाडीहरू क्रिकेट होलिडे प्याकेजमा नेपाल आएको बताए।
‘उहाँहरूलाई सगरमाथाको दृश्यावलोकनको पनि व्यवस्था गरेका छौं,’ अख्तरले भने, ‘प्रतियोगिता सकिएपछि केहीलाई तीन दिने ट्रेकिङको लैजाँदैछौं।’
उनले ठूला विदेशी खेलाडी आउँदा एकातिर उनीहरूबाट नेपाली खेलाडीले सिक्ने र अर्कातिर प्रतिभावान् नेपाली खेलाडी उनीहरूको नजरमा पर्ने बताए।
खेलाडीसँगै पूर्वाधार र प्रविधिमा पनि यसपटक नयाँ कुरा देख्न पाइने अख्तरले बताए।
‘ढिलो मैदान पाए पनि हामीले उत्कृष्ट पिच बनाएका छौं, मैदानमा दैनिक १२ हजार लिटर पानी हालेर हरियो बनाएका छौं,’ अख्तरले भने,‘मैदान र डाइनिङदेखि ट्वाइलेटसम्म सबै चिरिच्याट्ट बनाएका छौं।’
मुख्य प्रायोजकको लोगो टेलिभिजनमा हेर्दा आकर्षक देखाउन सब्लिमेसन म्याट पनि मैदानमा राखिएको छ। म्याट राख्न आइपिएलका मैदानमा काम गरेका तीन जना अनुभवी प्राविधिक नेपाल ल्याएको अख्तरले बताए।
उनले मैदान र पूर्वाधारमा मात्रै लगभग ४० लाख खर्च भएको दाबी गरे।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण अझ राम्रो गर्नका लागि पहिलो पटक एपी वान टेलिभिजनले टेलिलेन्स पनि भाडामा ल्याएको छ।
भारतबाट ल्याइएको ४० एक्स टेलिलेन्सको भाडामात्र १५ दिनको झन्डै १० लाख भारतीय रूपैयाँ परेको छ। लेन्स चलाउने प्राविधिक पनि उतैबाट आएका छन्।
‘अहिलेसम्म हामी ब्याटिङ गर्नेबेलामा क्लोज अप देखाउन सक्दैनथ्यौं, टाढाबाट एउटै फ्रेमभित्र बलर र दुबै ब्याट्सम्यान देखाउनुपर्थ्यो,’ एपी वान टेलिभिजनका ब्रोडकास्ट डाइरेक्टर योपेश प्रधानले भने, ‘यो लेन्सले बल कुरेर बसेका ब्याट्सम्यानको क्लोजअप देखाउँछ।’
टेलिलेन्सले टाढा-टाढाका दृश्यहरू देखाउनका साथै मैदानभित्रकै दर्शकको क्लोजअप पनि राम्रो देखिन्छ।
यसपालि ‘लाइन डिसिजन’ मा थर्ड अम्पायरलाई निर्णय लिन सजिलो हुने उनले बताए।
‘पोहोर १० वटामात्र क्यामेरा प्रयोग गरेका थियौं, अहिले १४ वटा क्यामेरा राखेका छौं,’ प्रधानले भने।
यसपालिको अर्को नयाँ प्रयोग हो, कमेन्ट्री।
प्रतियोगिताभरि नेपालीसँगै विदेशीले पनि खेलको कमेन्ट्री गर्नेछन्।
पालैपालो नेपाली र अंग्रेजीमा कमेन्ट्रीका लागि ४ जना विदेश कमेन्टेटरको व्यवस्था हुनेछ।
अहिले इंग्ल्याण्डको श्रीलंका भ्रमणमा कमेन्ट्री गरिरहेका श्रीलंकाका पूर्वअलराउन्डर फरवेज महरूफले पनि इपिएलको कमेन्ट्री गर्ने अख्तरले जानकारी दिए।
टेलिभिजनको पर्दामा मात्र होइन मैदानमा पनि दर्शकले यसपालि नयाँ कुरा देख्नेछन्।
खेलाडीको प्रदर्शन ‘सेलिब्रेसन’ गर्न पहिलो पटक विदेशी चियरलिडर्स पनि ल्याइएको छ।
बेलायतका छ जना चियरलिडर्स काठमाडौं आइसकेका छन्।
‘भारतमा भइरहेको हक्की विश्वकपका लागि आएका चियरलिडर्सहरूमध्ये ६ जनालाई हामीले १५ दिनका लागि ल्याएका छौं,’ अख्तरले भने, ‘मैदानको दुईतर्फ तीन/तीन जना गरी बस्ने चियरलिडर्सले आ-आफ्नो टिमको लागि चियर गर्नेछन्।’
उनीहरू पनि खेलाडीजस्तै होलिडे प्याकेजमा आएको अख्तरले बताए।
चियरलिडर्ससँगै दर्शकहरूले मैदानभित्रकै ठूलो पर्दामा खेल पनि देख्नेछन्।
‘नयाँ लेन्सले खिचेको आफ्नो क्लोजअप ठूलो पर्दामा हेर्न पाउनु दर्शकका रोमाञ्चक अनुभव हुनेछ,’अख्तरले भने।
प्रतियोगिताभरि दर्शकले खेलको रोमाञ्चकतामात्र पाउने छैनन् छक्का भएको बल एक हातले क्याच गरे पुरस्कार पनि पाउनेछन्। एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले एक हातले लिइएको हरेक क्याचका लागि दर्शकलाई ५० हजार रूपैयाँ दिनेछ।
यी सबै कुरामा अरू प्रतियोगिताभन्दा नयाँ प्रयोग भएको इपिएलमा पुरस्कार राशी पनि अरूभन्दा बढी हुन्छ त?
‘खेलाडी, पूर्वाधार र प्रविधि अन्तर्राष्ट्रिय स्तरको भएपछि पुरस्कार राशीमा कसको चासो हुन्छ र?,’ अख्तरले भने, ‘विश्वकपमा कति पुरस्कार राशी थियो भनेर कसले पो याद गर्छ र?’