भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिल अस्पताल भर्ना भएका छन्।
कोलकातामा जारी दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन घाँटीको पछाडिको भाग समस्या आएपछि उनी रिटायर्ड हर्ट भएका थिए। उनले अब बाँकी खेल नखेल्ने बीसीसीआईले आइतबार बिहान तेस्रो दिनको खेल सुरु हुनुअघि जनाएको छ।
‘गिललाई दोस्रो दिनको खेल सकिएपछि परीक्षणका लागि अस्पताल लगिएको थियो,’ बीसीसीआईको भनाइ छ, ‘उनी हाल अस्पतालमा निगरानीमा छन्। उनले टेस्ट खेलमा थप भाग लिने छैनन्। बीसीसीआईको मेडिकल टोलीले उनको निगरानी गरिरहनेछ।’
साइमन हार्नरको बलमा स्वीप सट खेलेर चौका प्रहार गर्दै खाता खोल्ने क्रममा आफ्नो इनिङ्सको तेस्रो बलमा उनले असहज महसुस गरेका थिए। तुरुन्तै फिजियोलाई बोलाएका थिए किनभने उनले आफ्नो घाँटीको पछाडिको भाग समातेका थिए। गिल त्यसपछ मैदानबाट बाहिरिए र रिटायर्ड हर्ट भए। सो इनिङग्समा भारत १८९ रनमा अल आउट हुँदा ब्याटिङ गर्न फर्किएनन्।
अक्टोबर २०२४ मा पनि उनले घाँटीमा समस्याका कारण न्युजिल्यान्डविरुद्धको टेस्ट गुमाएका थिए।
गिलको अनुपस्थितिमा ऋषभ पन्तले दक्षिण अफ्रिकाको दोस्रो इनिङ्समा टोलीको कप्तानी गरेका थिए।
टेस्टमा भारतले अहिले दक्षिण अफ्रिकाले दिएको १२४ रन पछ्याएर दोस्रो इनिङग्स ब्याटिङ गरिरहेको छ। तर सुरुमै यशस्वी जैसवाल (०) र केएल राहुल (१) मा गुमाएको छ।