सुरेन जे. अमरासेकरा एनसेलको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन्।
एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले अब आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एसियाली बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने छन्।
नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु सिङ्गापुर टेलिकम्युनिकेसन्स, श्रीलंकाको मोबीटेल, मलेसियाको म्याक्सिस बर्हाद र भारतको एयरसेलमा काम गरिसकेका छन्। ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संङ्गालेका छन्।
अमरासेकरा एनसेलमा प्रबन्ध सञ्चालकको रुपमा नयाँ कार्यभार सम्हाल्न लागेकोमा एनसेलको सञ्चालक समितिले खुसी व्यक्त गरेको छ। भारत, मलेसिया, श्रीलङ्का तथा सिङगापुर लगायतका विभिन्न देशहरुका चर्चित दूरसञ्चार कम्पनीहरुमा काम गरेको विस्तृत अनुभव सहित उनको नेतृत्वमा एनसेलले नयाँ कोसेढुंगा थप्दै, डिजिटल इन्क्लुजनद्वारा देशको समग्र प्रगतिमा योगदान पु¥याउने विश्वास एनसेल सञ्चालक समितिले लिएको छ।
सञ्चालक समितिले साइमन पर्किन्सलाई संक्रमणको समयमा प्रमुख योगदानकर्ताको रुपमा नेतृत्व प्रदान गरी एनसेललाई उल्लेखनीय योगदान पु¥याएकोे भन्दै धन्यवाद ज्ञापन गरेको छ।
‘यो अवसर पाएकोमा म निकै नै गौरवान्वित छु। एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गर्दै, डिजिटल नेपालको लक्ष्य प्राप्तिमा योगदान पु¥याउँदै, आजीयटाको ‘एडभान्सिङ एसिया’ को लक्ष्य हासिल गर्न इच्छुक छु,’ एनसेलका नव नियुक्त प्रबन्ध सञ्चालक, सुरेन जे. अमरासेकराले भने।
अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जीनियरिङ्मा स्नातक तथा स्नातकोत्तर गरेका छन्। यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गरेका छन्।