आइटिएफ तेक्वान्दोको पहिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेक्निकल सेमिनार दमकमा सुरू भएको छ।
अन्तर्राष्ट्रियस्तरका दुई कोरियन प्रशिक्षक रहेको उक्त सेमिनार बुधबार नेपाली सेनाको एक नम्बर बाहिनीका कर्णेल भरतचन्द्र गुरुङले उद्घाटन गरे। नेपाल आइटिएफ तेक्वान्दो महासंघ झापाको आयोजनामा सुरू भएको उक्त सेमिनारमा प्रशिक्षण दिन कोरियाबाट प्रशिक्षक पाक चोल मिन र जो चोल हो आएका छन्।
उनीहरूले विभिन्न तहका आइटिएफ खेलाडीलाई प्रशिक्षण दिएका छन्। नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाका अनुसार तेक्वान्दोको व्यावसायिक विकास गर्न अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण आवश्यक भएकाले कोरियन प्रशिक्षकलाई ल्याइएको बताए।
आइटिएफ तेक्वान्दोको उत्पत्ति भएको देश कोरियाबाट आएका प्रशिक्षकसँग अन्तर्राष्ट्रियस्तरको प्राविधिक ज्ञान रहेकाले उनीहरूबाट खेलाडीहरूले विभिन्न प्रकारको जानकारी पाउने उनले बताए। सेमिनारमा झापा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, इलाम जिल्लाका खेलाडीहरू सहभागी छन्।
विभिन्न तहका सयबढी खेलाडीहरू सहभागी कार्यक्रममा नेपाल आइटिएफ तेक्वान्दो महासंघ झापाका अध्यक्ष बबरजंग थापा, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश प्रसाईंलगायतले मन्तव्य राखेका थिए।