यसअघि हेलिकप्टर सेवा सेवा सञ्चालन गरिरहेको श्री एयरलाइन्सले तेस्रो जेट विमान काठमाडौं ल्याइपुर्याएको छ। सिआरजे–७०० मोडलको विमान शुक्रबार काठमाडौं ल्याइ पुर्याएको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले सेतोपाटीलाई बताए।
युरोपबाट संयुक्त अरब इमिरेट्स (दुबई) हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरिएको हो।
नेपालदेखि अफ्रिकासम्म हेलिकोप्टर सेवा दिइरहेको श्री एयरलाइन्सले फिक्स्ड वींङको अनुमति गएको साउनमै पाएको थियो। उसले गएको वैशाखमै दुई वटा सिआरजे–२०० सिरिजका विमान नेपाल ल्याइसकेको थियो भने यसपटक सिआरजे–७०० ल्याएको हो।
क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जेट विमानबाट नेपालका यात्रुलाई गुणस्तरीय, आरामदायी हवाई सेवा दिने बताएको छ। यद्यपी श्रीले तीन वटा विमान ल्याउँदा पनि उडान अनुमति भने अझै पाएको छैन।
नागरिक उड्डयन प्राधिकरणले इन्सपेक्सन गरिसकेको र त्यसको रिपोर्ट अध्ययनको क्रममा रहेकोले छिट्टै उडान अनुमति पाउने आशमा आफूहरु रहेको मानन्धरले बताए।
कुल दुई अर्ब लगानी थप गरेर तीन वटा विमानबाट सेवा सुरु गर्ने योजना बनाएको श्रीले नेपालको आन्तरिक हवाई उडानमा गुणस्तरिय यात्रा अनुभव, सस्तो सहुलियत सेवा दिइने मानन्धरले दाबी गरे।
‘सकेसम्म बुद्ध जयन्तीको दिन पारेर उडान सुरु गर्ने योजना बनाएका छौ,’ उनले भने, ‘क्यानबाट उडान अनुमति नपाउँदा गएको २ महिनादेखि विमान पार्किङमा थन्किएको छ।’
तीन वटा विमान भए पनि श्रीले हालसम्म एउटा विमानको लागि मात्र त्रिभुवन विमानस्थललाई आधार विमानस्थलको अनुमति पाएको छ। तर हेलीकप्टरको आफ्नै ह्यांगर भएकोले काठमाडौंमै राख्न सकिने उसको भनाइ छ।
फिक्स्ड वींङ अनुमति पाएपछि एक वर्षभित्र दुई वटा विमान ल्याउनुपर्ने नियम छ। तर, श्रीले सुरुमै दुई र शुक्रबार अर्को विमानसहित तीन पुर्याए पनि एयर अपरेटर सर्टिफिकेट (एओसी) नपाउँदा विमान थन्काउन बाध्य भएको हो।
नागरिक उड्डयन प्राधिकरणले भने श्रीलाई उडान अनुमति दिने सम्बन्धमा अध्ययन भइरहेको र करिब करिब अन्तिम चरणमा पुगेको बताएको छ।
श्रीको तेस्रो विमान आइसकेको र उसलाई अनुमति दिने प्रक्रिया अन्तिमतिर पुगेको प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
५० सिट क्षमताका दुई वटा सिआरजे–२०० विमान ल्याएको श्रीले पहिलोको लागि ‘९ एन–एमसी’ र दोस्रोको लागि ‘९ एन–एएमए’ नेपाली कलसाइन पाएको छ।
शुक्रबार आएको श्रीको तेस्रो जेट विमान ७८ सिट क्षमताको भए पनि त्यसलाई ७० सिटको बनाउने श्रीको योजना छ। श्रीको सिआरजे–७०० विमानलाई प्राधिकरणले ‘९ एन–एमबी’ दर्ता नम्बर दिएको छ।
सुगम क्षेत्रमा मात्र उडान गर्ने योजना बनाएको श्रीका तीन वटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी रूटमा नियमित उडान गर्नेछन्। त्यस्तै काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्नसक्ने उसको योजना छ।
२४ सिटे एमआई–१७ र एयरबस हेलीकप्टर्स ‘एएस३५० बिथ्रिई’ चार वटा छन्। नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्रीले अन्तरिक सँगै अन्तर्राष्ट्रिय (क्षेत्रीय) उडान गर्ने योजना पनि बनाएको छ।
श्रीसँग तीन वटा विमानमा कूल १७० सिट क्षमता हुने छ भने उसले पाँच स्थानमा काठमाडौंबाट उडान गर्ने योजना बनाएको छ।