पछिल्लो तीन दिनदेखि कैलालीको विद्या मन्दिर माविको जग्गामा प्लान्टरले काम गरेको छ।
प्लान्टर जसले जोत्ने, डोब खन्ने, मल राख्ने, बिउ लगाउने र माटोले ढाक्ने काम एकै पटक गर्छ। फष्ट च्वाइस फुडस प्रालिले पहिलो पटक यो प्लान्टर (मेसिन) नेपाल भित्र्याएको बताएको छ।
फष्ट च्वाइस नेपालमा फ्रेन्च फ्राइज लगायत आलुमा आधारित खाद्यवस्तु उत्पादन गर्ने उद्योग हो।
यसले नेपालबाट पहिलो पटक फ्रोजन फ्रेञ्च फ्राइज विश्व बजारमा निर्यात गरिरहेको छ। कम्पनीले किसानको लागत कम गर्न कृषि प्रविधिमा क्रान्ति ल्याउने उद्देश्यले यो अभियान सुरू गरेको बताएको छ।
कम्पनीका अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार यो प्रविधि प्रयोग गर्दा किसानको श्रम लागत कम हुन्छ। आलु लगाउने क्रमको समग्र लागत ८० प्रतिशत भन्दा कम हुन्छ।
भारतबाट ल्याइएको यो मेसिनले ठूलो र मिलेको खेतमा एक घण्टामा करिब पाँच बिगाहासम्म आलु रोप्न सक्छ, जसलाई चलाउन दुई जना मात्रै चाहिन्छन्ः एक जना चालक र एक जना अपरेटर।
यस आलु खेती अभियानमा कैलालीमा मात्रै १२ देखि १५ हजार किसानहरू जोडिएका छन् भने देशभरि यो सङ्ख्या २५ हजारदेखि ३५ हजारभन्दा बढी रहेको अनुमान छ।
मुख्य गरी कैलाली, नवलपुर, दाङ, उदयपुर, सिन्धुली, सुनसरी, गाईघाट, नुवाकोट, र लमजुङ लगायत २६ वटा जिल्लामा यो अभियान फैलिएको छ।
कैलालीमा मात्रै हालसम्म करिब २०० बिगाहा जग्गामा आलु लगाइएको छ र नवलपुरमा पनि २०० बिगाहाभन्दा बढीमा आलु लगाइएको छ।
स्थानीय कृषक प्रतिनिधीले टिकापुर मल्टिपल कलेज (टिएमसी) र वीरेन्द्र विद्या माध्यमिक विद्यालयको जग्गा भाडा (लिज) मा लिएर खेती गरिरहेको छन्।
कम्पनीले किसानलाई बिउ दिने, प्राविधिक ज्ञान दिने, खेतमा गएर हेर्दिने र उत्पादन किन्दिने सबै काम गर्छ। तर, लगानी, नाफा र घाटा सबै किसानकै हुने कम्पनीले जनाएको छ।
आलुको न्यूनतम आधार मूल्य २३ रुपैयाँ तोकिएको छ। त्यसपछि तीन महिनामा बजार मूल्यमा आधारित रहेर कारोबार गरिन्छ।
किसानहरूले यदि पैसा दिएमा बिउको पैसा लिन सकिन्छ, नत्र पछि आलु किन्ने बेलामा समायोजन गर्ने व्यवस्था गरिएको छ।
कम्पनीले यस वर्ष नेपालबाट २० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन गर्ने योजना बनाएको छ र आलु रोप्ने समय मंसिरको १० गतेभित्र सक्नुपर्छ।
उत्पादित आलुबाट बनाइएका खाद्यवस्तुहरु मुख्यतया नेपालको बजार र भारतीय बजारमा बिक्री भएको छ। दुई साता अघिबाट अमेरिकी बजारमा पनि पुगेको छ।
‘हामीले २ कन्टेनर फ्रोजन फ्रेन्च फ्राइज अमेरिकामा पठाइसक्यौं, दोस्रो चरणको लागि कोलकत्ताबाट खाली कन्टेनर आउदैछन्। अब हरेक साता पठाउँछौ, ‘कम्पनीको अन्तर्राष्ट्रिय बजार हेर्ने प्रतिनिधि ज्ञानु अर्यालले भने।’
युकेमा यो महिनाभित्र पठाउने तयारी छ। भविष्यमा जापान र अस्ट्रेलियामा पनि निर्यात गर्ने तयारी रहेको कृष्णप्रसाद पौडेल बताउँछन्।
कम्पनीले आलुको बीउ सुरुमा नेदरल्याण्डबाट ल्याइएको भए पनि अहिले कम्पनीले बीउ नेपालमै (कैलाली र नुवाकोटमा) विकास र उत्पादन गरिरहेको छ।
कम्पनीले पाँच वर्षसम्म बीउ उत्पादन र आलु अनुसन्धानमा समय खर्चिएको थियो।
अहिले तीन जिल्लामा व्यवसायिक किसानसँग मिलेर बीउ उत्पादनमा काम भइरहेको छ।
कम्पनीका अनुसार, ‘उद्योगले किसानलाई बीउ, प्राविधिक सल्लाह र खेतमै आलु खरिदको सुविधा दिन्छ।’
नेपाली फ्रेञ्च फ्राइज अमेरिकी बजारमा रुपन्देही जिल्लामा रहेको फस्ट च्वाइस फुड्स प्रालिले उत्पादन गरेको फ्रोजन फ्रेञ्च फ्राइज (जमाएको आलु चिप्स) पहिलो पटक संयुक्त राज्य अमेरिका निर्यात भएको थियो।

भैरहवा भन्सार कार्यालयका अनुसार दुईटा कन्टेनरमा लोड गरिएको जम्मा ४३ हजार ५२० किलोग्राम फ्रेञ्च फ्राइज अमेरिकाको जेन्ट कम्पनीलाई पठाइएको थियो।
नेपालको पहिलो फ्रेञ्च फ्राइज उत्पादन गर्ने उद्योग हो र यो रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करिब पाँच बिगाहा जमिनमा युरोपेली प्रविधिमा आधारित भई स्थापना भएको छ।
गत फागुन महिनादेखि व्यवसायिक रूपमा उत्पादन सुरु गरेको यस उद्योगले सुरुमा भारतीय बजारमा निर्यात गरेको थियो।
यस उद्योगमा हालसम्म डेढ अर्ब रुपैयाँ लगानी भएको छ र यसले २ सय जनालाई रोजगारी दिएको छ।
यो उद्योगले फ्रेञ्च फ्राइज मात्र नभई आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन पनि उत्पादन गर्छ।
यो उद्योगमा करिब २ अर्ब लगानी गरिएको कम्पनीले जनाएको छ।
