अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड मेरियटको नामबाट काठमाडौंको ठमेलमा तारे होटल संचलानमा ल्याइसकेको र नक्सालमा पाँचतारे होटल निर्माण गरिरहेको एमएस ग्रुपले उपत्यका बाहिर पनि बिजनेस होटल विस्तार गर्ने भएको छ।
उपत्यका बाहिर होटल, लज, रिसोर्ट भएपनि बिजनेस होटलको सुविधा नभएकोले त्यसको सम्भाव्यता अध्ययन गरिरहेको र स्थान निश्चित हुनेवित्तिकै होटल निर्माणको काम अगाडि बढाइने ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालले जानकारी दिए।
अहिलेसम्म कुन ठाउँमा होटल खोल्ने भन्ने कुरा निश्चित नभएपनि जनकपुर, बुटवल, चितवन र पोखराजस्ता ठाउँमा सम्भाव्यता अध्ययन गरिरहेको अग्रवालले जानकारी दिए। ति क्षेत्रमा अहिले जग्गा खोजीको क्रममा रहेको उनले बताए। विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) मार्फत नेदरल्यान्डको डच बैंकले ऋण दिन तयार भएकोले आफूहरु जग्गाको खोजीमा रहेको ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले बताए।
फेयरफिल्ड मेरियटको नाममा काठमाडौंको ठमेलमा तीन तारेस्तरको होटल संचालनमा ल्याइसकेको ग्रुपले उपत्यका बाहिर यत्तिकै सुविधाको बिजनेस होटल निर्माण गर्ने लक्ष्य लिएको छ। विश्वको सबैभन्दा ठूलो होटल चेन मेरियटकै नामबाट खोलिएको ठमेलको मेरियटमा आइएफसीको ७० प्रतिशत लगानी रहेको छ।
एक अर्ब लागत लागेको होटलको लागि ग्रुपले आइएफसी मार्फत पाँच प्रतिशत ब्याजदरमा ऋण लिएको हो। ठमेलको सो होटलमा १ सय १५ कोठा छन्। आइएफसीले दिगो पर्यटन निर्माणसम्बन्धी कार्यक्रममा नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने नीति लिएअनुरुप एमएस ग्रुपमा लगानी गर्न तयार भएको थियो। नेपाल जोखिमपूर्ण देश भएको भन्दै ब्याजदरमा भने उसले कडाइ गरेको छ।
नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन र आएका पर्यटकको बसाई लामो बनाउन स्तरीय सेवासहितको होटल हुनुपर्ने भएपनि नेपालमा पर्याप्त नभएकोले आफूहरुले यो क्षेत्रमा लगानी गरिरहेको अग्रवालको भनाइ छ।
‘सेवा र सुविधामा अन्तर्राष्ट्रियस्तरको र मूल्यमा स्थानीय प्रतिस्पर्धा हाम्रो मुख्य ध्येय हो’ अग्रवालले भने, ‘यही मन्त्रलाई ध्यानमा राख्दै हामी उपत्यका बाहिर पनि बिजनेस होटल विस्तार गर्न चाहन्छौँ।’ नेपालमा पर्यटनको सम्भावना उच्च भएको तर पूर्वाधारको अभावमा अधिकतम लाभ लिन नसकेको र त्यसको लागि होटल एउटा मुख्य पूर्वाधार भएको उनको विचार छ।
पर्यटक आएपछि बस्न, खान, तथा सभासमारोहको लागि पनि होटलको आवस्यकता पर्ने भए पनि सोअनुसारको विविधतापूर्ण सुविधाको नेपालमा अभाव भएको उनको बुझाइ छ। ‘पर्यटकहरुले स्थानीय स्वाद र सुविधासँगै अन्तर्राष्ट्रिय गुणस्तर पनि खोज्छन्’ अग्रवालले भने, ‘तर हामीसँग जहाँ गए पनि एउटै प्रकारको मूल्य सूची र सुविधा पाइन्छ जुन सबैले उत्तिकै रुचाउँदैनन्।’
अहिलेको तुलनामा दोब्बर विदेशी मात्र नेपालमा बढ्ने हो भने हाल भएका र निर्माणाधिन होटलको पूर्वाधारले नपुग्ने व्यवसायीको भनाइ छ। त्यसको लागि सरकारले विमानस्थल, सडकजस्ता पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरुको सुझाव छ। यो ग्रुपले हाल तीन अर्ब रुपैयाँ लागनीमा काठमाडौंको नक्सालमा पाँचतारे होटल निर्माण गरिरहेको छ। २ सय ३५ कोठा हुने उक्त होटल यही वर्षभित्र संचालनमा ल्याइसक्ने लक्ष्य लिइएको अग्रवालले जानकारी दिए। होटल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ।
पछिल्लो समय ठूला र स्तरीय होटल निर्माणमा व्यवसायीहरुको आकर्षण बढेको छ। काठमाडौं उपत्यकाभित्र मात्र अरबौं लगानीमा तारे होटलहरु धमाधम निर्माण भइरहेका छन्। होटलसँगै निर्माण हुनुपर्ने अन्तर्राष्ट्रिय विमानस्थल, गुणस्तरीय सडकजस्ता पूर्वाधार निर्माण नहुँदा लगानी जोखिममा पर्नसक्ने अनुभवी व्यवसायीहरुले चेतावनी दिने गरेका छन्।
तर अग्रवालल भने विस्तारै सबै काम अगाडि बढेकोले केही वर्षभित्र अहिलेका होटल अपुग हुने बताउँछन्। अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको, सडक, एक्सप्रेस वेहरु धमाधम निर्माण भइरहेकोले केही समयभित्र पर्यटकको आगमन बढ्ने उनको विश्वास छ।
नेपालमा पर्यटकीय सम्भावना कम नभएको र यसमा सरकारी तथा निजी क्षेत्रबाट केही प्रयास गर्ने हो भने पर्यटनबाटै अर्थतन्त्र कायापलट हुन समय नलाग्ने अग्रवाल बताउँछन्।