यातायात व्यवस्था विभागले आज दोस्रो दिन भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई ५ सय १३ ट्याक्सी नम्वर वितरण गर्ने भएको छ।
दोलखा, सिन्घुली र सिन्धुपाल्चोकका ५१३ जनाले ट्याक्सी नम्बर पाउने भएका हुन्। यी तीन जिल्लाबाट कुल ५१ हजार १ सय १२ जनाले आवेदन दिएका थिए। जसमा दोलखाबाट २१ हजार ३ सय ४४, सिन्धुलीबाट ४ हजार ५ सय ४३ र सिन्धुपाल्चोकबाट २५ हजार २ सय २५ जनाको आवेदन आएको यातायात व्यवस्था विभागले जनाएको छ।
आवेदन धेरै आएपछि विभागले प्रत्येक जिल्लाबाट आएको आवेदनको आधारमा कोटा छुट्याएर नम्वर वितरण थालेको हो। जस अनुसार दोलखाका २ सय १४, सिन्धुलीका ४६ र सिन्धुपाल्चोकका २ सय ५३ भूकम्प पीडितले ट्याक्सी नम्बर पाउनेछन्।
त्यसैगरी बाँकी ८ जिल्लाका भूकम्प पीडितलाई भोलि वितरण गरिने छ। वितरणको तेस्रो दिन भोलि ओखलढुङ्गा, मकवानपुर, धदिङ, रसुवा, गोरखा, काठमाडौं, ललितपुर र भक्तपुर गरी ८ जिल्लाका ४ सय ९६ जनाले नम्बर प्लेट पाउनेछन्।
यसअघि हिजो काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका ४ सय १९ जनाले ट्याक्सी नम्बर पाएका थिए। भूकम्प अति प्रभावित १४ जिल्लका पीडितलाई ट्याक्सी वितरण गर्नको लागि यातायात व्यवस्था विभागले गत साउन ५ देखि भदौ ५ सम्म आवेदन लिएको थियो।
गोला प्रथाबाट बाँडिने ट्याक्सी नम्बरको केही मिडियाबाट प्रत्येक्ष प्रसारण समेत गरिएको छ।