आगामी जनवरी १ देखि चीनले विद्युतीय सवारीसाधन (इभी) निर्माताहरूका लागि नयाँ निर्यात अनुमति प्रणाली लागू गर्ने भएको छ।
इभी उद्योगको स्वस्थ र दिगो विकास सुनिश्चित गर्ने उद्देश्यले चीनको वाणिज्य मन्त्रालयले आइतबार यो नीति घोषणा गरेको बताइएको छ।
मन्त्रालयले यससम्बन्धमा विस्तृत निर्देशीका सार्वजनिक गरिसकेको छैन। तर, यस क्षेत्रका विश्लेषकहरूका अनुसार यो निर्देशीकाले इभीको निर्यात सीमा, उत्पादन क्षमता, गुणस्तर, प्रमाणिकरण समेट्ने सम्भावना छ।
चिनियाँ ब्राण्डको छवि जोगाउन पनि उच्च दरमा भइरहेको इभी निर्यातलाई कडाई गर्दै चीनले यस्ता सवारीको गुणस्तरमा बढी जोड दिने भएको हो।
घरेलु बजारमा इभीको मूल्यमा बढ्दो प्रतिस्पर्धा र छुट दिने परिपाटी बढी रहँदा चीनले यो नीति अघि सारेको हो। यो क्षेत्रको दिगोपनामै आशंका उब्जिन थालेपछि चीनले कडाई गर्ने संकेत गरेको हो।
विवाइडी, नियो जस्ता इभी उत्पादक चीन हाल विश्वकै सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता मुलुक बनिरहेको छ। सन् २०२५ को सात महिनामा मात्रै चीनले करिब १९ अर्ब डलर बराबरका इभी गाडी निर्यात गरेको छ।
विदेशी बजारमा पहुँच पुगेका कम्पनीहरूलाई रणनीतिक रूपमा नियमन गर्ने उदेश्यले चीनले अहिले नयाँ नीति लिएको बुझिएको छ।
चीनको अटोमोटिभ क्षेत्रले आगामी पाँच वर्षमा चार करोड गाडी उत्पादन गर्ने लक्ष्य लिएका छन्।
चीनले लिएको यो नीति इभी निर्यात नियन्त्रण गर्ने उदेश्यले नभई यो क्षेत्रको दिगोपना सुनिश्चितताको लागि नियमन गर्न आउन लागेको बताइएको छ।