काठमाडौंले नयाँ 'जीवित देवी' कुमारीका रूपमा आर्यतारा शाक्य पाएपछि गायक उजन शाक्यको 'कुमारी' गीतको यो अंश खुब लोकप्रिय छ —
गथे याना ध्यागु ग्व, गथे याना त्यगू त्व
मतिनाया स्वरूपे, कुमारी हे व थें च्वं
सामाजिक सञ्जालमा भाइरल नेपाल भाषाको यो हरफ नेवार समुदायले मात्र होइन, गैरनेवारहरूले पनि गुनगुनाइरहेका छन्; भिडिओ बनाइरहेका छन्।
यसको अर्थ के त?
उजनले अर्थ खुलाउँदै भने, 'यो गीतमा मैले राजा जयप्रकाश मल्लले तलेजु भवानीलाई देख्दाको अनुभूति समेट्न खोजेको छु। उनलाई आफ्नो कुरा कसरी भनौं, कुन बहाना बनाऔं भनेर गीतको पहिलो लाइनले भनेको छ। अर्को लाइनमा प्रेमको स्वरूपमा कुमारी नै आएजस्तो अनुभव व्यक्त गरिएको छ।'
उजनले यो गीत पछिल्लो येँया पुन्ही (इन्द्रजात्रा) को अवसरमा सार्वजनिक गरेका थिए। त्यति बेलै गीत चर्चामा आइसकेको थियो। तर भदौ २३ र २४ को जेन–जी आन्दोलनले यसलाई ओझेल पार्यो।
त्यसपछि यो ओझेल नै रहन्थ्यो होला; तर संयोग कस्तो पर्यो भने, दसैंको अष्टमीका दिन कुमारी परिवर्तन भइन्।
त्यही क्रममा नयाँ कुमारी आर्यतारा शाक्यलाई काँधमा बोकेर कुमारीघर भित्र्याउँदै गर्दा उनका बुबा अनन्त शाक्यले भावुक हुँदै आँशु बगाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो।
अनि, त्यो दृश्यसँग भाइरल भयो, युजनको यही गीत।
कुमारीलाई बोकेर उनका बुबाले आँशु बगाइरहेको भिडिओमा युजनको गीतले त्यो क्षणलाई अर्कै उचाइमा पुर्याइदिएको थियो।
युजन आफै पनि कुमारी परिवर्तनको घटनाले आफ्नो गीत भाइरल गराउन सहयोग गरेको स्वीकार गर्छन्।
'इन्द्रजात्रा बेला एक हिसाबले राम्रै चलिरहेको थियो। बीचमा जेन–जी आन्दोलन भएपछि गीतले त्यति प्रचार पाएन। तर कुमारी परिवर्तन भएपछि फेरि रफ्तार समात्यो,' युजनले सेतोपाटीसँगको भिडिओ कुराकानीमा भने, 'गीत निस्केकै बेला कुमारी पनि परिवर्तन हुनुले म आफूलाई भाग्यमानी ठान्छु।'
आफ्नो गीत आफै लेख्ने युजनले अगाडि भने, 'पहिले पनि मेरा गीतहरू नेपाल भाषा नबुझ्ने गैरनेवारहरूले राम्रो लाग्यो भनेर प्रतिक्रिया दिनुहुन्थ्यो। यसपालि त झन् अन्तर्राष्ट्रिय स्रोताहरूले पनि राम्रो छ भनेर प्रतिक्रिया दिइरहनुभएको छ।'
'यो गीत बुझ्नकै लागि पनि नेपाल भाषा सिक्नुपर्ने रहेछ भनेर धेरैले प्रतिक्रिया दिइरहनुभएको छ,' उनले भने।
'कुमारी' गीत चर्चामा आउनुअघि उनका 'मैंचा', 'राजमती', 'लुमन्ती' लगायत गीत चर्चित थिए। त्यही चर्चाले नेपाल भाषामा गाउन प्रेरित भएको उनी बताउँछन्।
'मलाई नेवाः संगीतमा केही गर्नुपर्छ भन्ने सधैं लाग्थ्यो। सुरू सुरूमा नेपाली भाषामा मात्र गीत लेख्ने भएकाले नेपाल भाषामा लेख्न अलिक गाह्रो हुन्थ्यो। अहिले नेपालीभन्दा नेपाल भाषामा लेख्न सजिलो लाग्न थालेको छ,' उनले भने, 'गीत लेख्दा नेपाल भाषाका गहिरा भावयुक्त शब्द पनि थाहा पाइरहेको छु र त्यसलाई प्रयोगमा ल्याइरहेको छु।'
अहिलेको समय नेवाः संगीत चर्चामा आउनुलाई उजन एक प्रकारको 'सांगीतिक क्रान्ति' मान्छन्। र, त्यसको हिस्सा बन्न पाउँदा आफूलाई भाग्मानी ठान्छन्।
उजन स्कुल पढ्दादेखि नै गीतहरू लेख्थे, गाउँथे। एसएलसीपछि साथीहरूसँग मिलेर सांगीतिक प्रस्तुति दिन थाले।
त्यही बेला उजनको नेतृत्वमा ब्यान्ड बन्यो — इमर्ज।
अंग्रेजी शब्द 'इर्मज' ले 'उदाउँदै गरेको' भन्ने बुझाउँछ। त्यसले उनको आफ्नै करिअरलाई संकेत गरेको देखिन्छ।
उजनले आफ्नो सांगीतिक यात्राको सुरूआती चरणमा गाएका धेरै गीत 'इर्मज' कै युट्युब च्यानलमा सुन्न पाइन्छ। नयाँ गीत भने उनकै नामको युट्युबमा छ।
करिअरको सुरूआतमा उजनले नेपाली भाषामा 'सम्झी तिमीलाई', 'मेरो यो गीत', 'आत्तिएको मन', 'यो हावा', 'चाहन्छु', 'माया गर्छु' लगायतका गीत निकालेका थिए। लकडाउनको समयबाट भने नेपाल भाषाका गीत गाउन थालेका छन्।
उजनको पहिलो हिट नेपाल भाषाको गीत 'मैंचा' हो। लकडाउनमा प्रेमी–प्रेमिका भेट्दाको भावना समेटिएको उक्त गीत त्यति बेला धेरैले मन पराएका थिए।
'अलिकति कमर्सियल जान पनि यस्ता गीत निकालिरहेको छु। दर्शक/स्रोताले मन पराइरहनुभएको छ। सँगसँगै नयाँ शैली पनि पर्गेलिरहेको छु,' उनले भने।
उजन आफ्ना गीतलाई 'नेवाः एफ्रोबिट' शैली भन्छन्। पश्चिम–अफ्रिकी शैलीका यी गीतमा अफ्रिकी वाद्ययन्त्रका साथ आधुनिक वाद्ययन्त्रको मिश्रण सुन्न पाइन्छ। उजनले भने अफ्रिकी र आधुनिक सँगसँगै नेवाः वाद्ययन्त्रको तालमेल मिलाएका छन्।
'कतिपय गीत नेवाः एफ्रोबिट शैलीमा भए पनि कतिमा दाफा भजनको प्रभाव छ। अहिले चर्चामा रहेको कुमारी गीत नै दाफा र नेवाः संस्कृतिसँग नजिक छ,' उनले भने।
'कुमारी' पछि उजनले 'बेबी' शीर्षकको अर्को गीत सार्वजनिक गरिसकेका छन्। यो गीत उनले कुमारीभन्दा अगाडि नै लेखेका हुन्। दसैंमा सार्वजनिक गर्ने सोच भएकाले मात्र कुमारीभन्दा पछाडि धकेलिएको उनी बताउँछन्।
'बेबी' गीतलाई कतिपयले 'राजमती' गीतको दोस्रो भागका रूपमा लिएका छन्।
'राजमती गीतको भिडिओ हेर्ने प्रायःले मलाई त्यसपछि के भयो भनेर सोध्नुहुन्छ। तर बेबी त्यो कथाको अर्को भाग होइन। यसलाई राजमतीको अर्को पाटो जसरी देखाउन खोजेको छु। पुरानो घटनाक्रम नयाँ समयमा दोहोरिए जस्तो, पहिले भइसकेको कुरा फेरि भए जस्तो देखाउन खोजेको छु,' उनले भने।
एकपछि अर्को गीत निकालिरहेका उजन आफ्ना गीत संगालिरहन चाहन्नन्। त्यसैले उनी अब 'असन बजार' शीर्षकको गीत निकाल्ने तयारीमा छन्।
'दर्शकहरूले यो गीत कुर्नुभएको धेरै भयो। अब त्यो प्रतीक्षा चाँडै समाप्त हुनेछ,' उनले भने, 'यो गीतमा नेपाली र नेपाल भाषासँगै र्याप पनि सुन्न सक्नुहुन्छ।'
उनी अहिले 'कुमारी' गीतको म्युजिक भिडिओ बनाउने तयारी पनि गरिरहेका छन्। राम्रो कथा बुनेर भव्य भिडिओ बनाउने उनको इच्छा छ।
'यो गीतमार्फत म संसारलाई हाम्रो नेवाः संस्कृति कति भव्य छ भनेर देखाउन चाहन्छु,' उजनले भने।
***