नेपाल–चीन हवाई मार्गमा उडान थपिने भएका छन्। हिमालय एयरलाइन्सको समेत लगानीकर्ता रहेको तिब्बत एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति पाएसँगै काठमाडौंबाट चीनका विभिन्न सहरमा उडान गर्ने एयरलाइन्सको संख्या पाँच पुगेको छ।
यसअघि एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयरलाइन्सले चीनका विभिन्न सहरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आइरहेका थिए। तिब्बत एयरलाइन्सले छेन्दु–काठमाडौं, काठमाडौं–छेन्दु उडान अनुमति पाएसँगै उडान थप हुने भएको हो।
तिब्बतले जेठ २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति पाएको थियो। अनुमति पाएपछि असार ५ मा परीक्षण उडान गर्ने भनिए पनि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतरण गरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। तिब्बतले हप्ताको चारवटा उडान गर्ने जनाइएको छ।
निजी क्षेत्रको हिमालय एयरलाइन्समा ४९ प्रतिशत स्वामित्व भएको तिब्बत एयरले ए ३१९ सिरिजको विमानबाट उडान गर्ने छ। तिब्बत एयरलाइन्सको विमान ल्याएर हिमालयले पनि काठमाडौंबाट बेइजिङ लगायतका सहरमा सिधा उडान गर्ने योजना बनाएको छ।
चीनका ३८ सहरबाट काठमाडौंमा सिधा उडान गर्न मिल्नेगरी नेपालले हवाई सम्झौता गरेको भएपनि हालसम्म ६ वटामा मात्र उडान भइरहेको छ।नागरिक उड्डयन प्राधिकरणका अनुसार तिब्बतले अनुमति पाएसँगै चीनका विभिन्न एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने वा उडान तथा अवतरण गर्ने एयरलाइन्सको संख्या पाँच पुगेको छ। हप्तामा पाँच एयरलाइन्सले ५५ उडान गर्ने छन्।यसअघि चारवटा एयरलाइन्सले हप्तामा ५१ वटा उडान गर्दै आएका थिए।
एयर चाइनाले छेन्दु–ल्हासा–काठमाडौं रुटमा दैनिक उडान÷अवतरण गरिरहेको छ। त्यसैगरी काठमाडौं–छेन्दु गन्तव्यमा पनि एयर चाइनाले दैनिक उडान गरिरहेको छ। एयर चाइनाले हप्तामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ उडान तथा १४ अवतरण गरिरहेको छ।
[caption id="attachment_50784" align="aligncenter" width="940"]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाकाे विमान[/caption]
चाइना इस्टर्नले काठमाडौं–कुनमिङ रुटमा दैनिक २ उडान गरिरहेको छ भने चाइना साउदर्नले काठमाडौं–ग्वाङजाउमा दैनिक २ उडान गरिरहेको छ। त्यस्तै सिचुवान एयरलाइन्सले पनि छेन्दुङ–ल्हासा– कठमाडौं रुटमा हप्तामा ४ र हाङजाउ–सियान–काठमाडौं रुटमा हप्तामा ३ गरी कूल ७ उडान गरिरहेको छ।
नेपालबाट चीनसँग हवाई तथा सडक यातायातको अवस्था सहज नहुँदा न्यून मात्र चिनियाँ पर्यटक यहाँ आउने गरेका छन्। हवाई भाडा महँगो हुनु र सडक यातायात सहज नहुँदा चिनियाँ वा चीनसम्म पुगेका विदेशीहरु पनि नेपाल नआउने गरेको नेपालका पर्यटन व्यवसायीहरुले बताउँदै आएका छन्।
चिनियाँ एयरलाइन्सहरुले सीमित उडान गरिरहेको र उनीहरुकै एकाधिकार रहेकोले काठमाडौं आउनलाई भाडा अत्याधिक महँगो रहेको छ। तीन सय किलोमिटर हवाई दुरी रहेको ल्हासाबाट काठमाडौं आउन न्यूनतम २५ हजारमाथि भाडा लाग्ने गरेको छ। त्यस्तै चीनका धेरै सहरबाट नेपाल आउन यातायातको सहज पहुँच नभएकोले चिनियाँ पर्यटकहरु नेपालमा बढ्न नसकेको स्वयम् सरकारी अधिकारीहरु नै बताउँछन्।