राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भुटान एयरलाइन्सको विमान भाडामा लिएर चलाउने भएको छ। नेपाल एयरलाइन्सले ४५ दिनका लागि विमान भाडा दिन भन्दै जारी गरेको विश्वव्यापी टेन्डरमा भुटान एयरलाइन्स र युक्रेनको स्टार एभिएसन कम्पनीले प्रस्ताव गरेका थिए। त्यसमा सस्तोमा उपलब्ध गराउने भुटान एयरको प्रस्ताव आएपछि सम्झौताको लागि सो एयरलाइन्सलाई आसयपत्र पठाइएको महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए।
तीन वटा विमानबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको नेपाल एयरलाइन्ससँग रहेको बोइङ ७५७ मर्मतको लागि केही समय लाग्ने भएकोले सो समयमा उडान प्रभावित नहोस भनेर विमान भाडामा लिन खोजिएको कंसाकारले जानकारी दिए।
नेपाल एयरलाइन्सले ए २१९, ए २२० र ए २२१ सिरिजको कुनैपनि रंगको एयरबस विमान जुलाई २१ सम्म त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलसम्म ल्याइदिनुपर्ने शर्त राखेको छ।
प्रस्तावहरुको प्राविधिक मूल्यांकनपछि भुटान एयरलाइन्सको प्रस्ताव स्वीकृत भएर सम्झौताको लागि पत्र पठाइएको कंशाकारले जानकारी दिए।
पत्र पाएपछि भुटान एयरको टिम आएर सम्झौताको लागि छलफल सूरु हुने छ। ६० दिन नबढाइकन विमान भाडामा लिने योजनामा रहेको निगमले भाडाको मूल्य पछि निर्क्यौल हुने बताएको छ।
सन् २०११ मा स्थापना भएको टसि ग्रुप अफ कम्पनिजको भुटान एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानको लागि दुई वटा विमान १ सय ५० सिट भएको ए३२० एयरबस र १ सय २२ सिट क्षमताको ए३१९ रहेका छन्।
सन् २०१३ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको भुटान एयरलाइन्ससँगको सम्झौतापछि नेपाल एयरलाइन्सले भाडामा विमान लिनेछ।