सिचाइँ सुविधा विस्तार गर्नका लागि करौडौँ खर्च गरेर निर्माण गरिएका डिप ट्यूबेल बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत संभार नहुँदा बाँकेका किसानहरु समस्यामा परेका छन्। सिचाइको सुबिधा नहुँदा किसानहरुलाई धानको बिउ राख्न समेत समस्या भएको छ।
एसियाली विकास बैंक लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा नेपाल सरकारले बाँकेमा निर्माण गरेका ७५ वटा मध्ये ४० डिप ट्युबेल बिग्रिएको लामो समय हुँदा समेत मर्मत संभार हुन सकेको छैन।
डिप बोरिङ बिग्रिएको १०/१२ वर्ष बित्न थाले पनि मर्मत संभार नहुँदा बाँकेका किसानहरु खेत बाँझै राख्न बाध्य भएका छन्। बिग्रिएका डिप ट्युबेलहरुको मर्मत संभार गरी संचालन गर्न तर्फ भुमिगत सिचाइँ कार्यालयले कुनै चासो नदेखाएको गुनासो किसानहरुको छ।
वर्षाै देखि बिग्रिएका डिप ट्युबेललाई मर्मत सम्भार गरेर पुन संचालन गर्नका लागि करिब १५ करोड लाग्ने भूमिगत सिचाइँ कार्यालय नेपालगन्जले जनाएको छ। मर्मत संभारमा बजेटको अभाव भएका कारण विद्युतको ट्रान्सफरमर र तार चोरी भूमीगत सिचाइँ कार्यालय नेपालगन्जका इन्जिनियर राजकुमार भगतले बताए।
बाँके जिल्लाको खेतीयोग्य जमिनमध्ये करिब २८ प्रतिशत क्षेत्रमा मात्रै सिचाइँ सुविधा छ । सिचाइँ सुविधा नहुँदा बाँकेका किसानहरु वर्षेनि आकासे पानीको भरमा खेती गर्न बाध्य छन्।
करौडौं खर्च गरेर संरचना निर्माण गर्ने तर संचालन भए नभएको र त्यसबाट प्रतिफल आए नआएको अनुगमन गर्ने तर्फ सरकारी निकायले ध्यान नदिँदा राज्यको लगानी डुबेको मात्रै छैन, किसानहरु समेत मारमा परेका छन्।