बहुउपयोगी कागतीको व्यवसायिक खेतीले झापाका कृषक एवम् उपभोक्ता दुवैै लाभान्वित भएका छन् ।
जिल्लाका विभिन्न ठाउँमा यसको व्यावसायिक खेती सुरु भएको छ । कागतीकाे महत्व र बजार बढ्दै गएका कारण कागतीको व्यावसायिक खेती बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७०÷७१ मा ४५ हेक्टर, आव २०७१÷७२ मा ५५ हेक्टर, आव २०७२÷७३ मा ७० हेक्टरमा तथा आवप २०७३÷७४ मा करिब १०० हेक्टर जग्गामा कागतीखेती गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका कर्मचारी बुल्लुराम राजवंशीले जानकारी दिए।
पछिल्लो समय सर्वसाधारणले आ–आफ्ना घरमा कागतीको बोट लगाउने गरेका छन् । स्थानीय बहुउद्देश्य सहकारी संस्था चन्द्रगढीले गत वर्ष एक हजार ५०० तथा यस वर्ष पनि सोही परिमाणमा कागतीको बोट आफ्ना सेयर सदस्यलाई १५० का दरले बिक्री गरेको छ ।
वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीका अनुसार व्यावासायिक रुपमा कागतीखेती गर्ने कृषकलाई कार्यालयले थोपा सिँचाइ योजनाअन्तर्गत रु एक लाखसम्म अनुदान दिने गरेको बताए। सो अनुदान जिल्लामा यस वर्ष दुई जनालाई प्रदान गरिएको छ ।
गौरादह नगरपालिका– १ स्थित पूर्वेली पाथिभरा कृषि सहकारीले स्थानीय ध्रुव दाहालको दुई बिगाहा नौ कठ्ठा जग्गामा बर्सेनि ६० हजार भाडा तिरेर कागतीखेती सुरु गरेको छ । तीन वर्षमा लगभग १७ लाख खर्च भइसकेको सञ्चालक खुमनाथ निरौला बताउछन्। उनले कृषि कार्यालयबाट थोपा सिँचाइ योजनाअन्तर्गत एक लाख अनुदान पाएका छन् । रासस