मादक पदार्थ सेवन गरेर सडकमा ढलेका युवाको उद्धार गर्दा झापामा ड्यूटीमा रहेका एक प्रहरी जवानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापा दरवन्दी भई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा काजमा कार्यरत मोरङ डाँगीहाटका २४ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जेठ १८ गते राति १० वजे प्रहरीको मोवाईल गस्तीले मेचीनगर १० कालीखोला सडकमा ढलेका एक युवकलाई उद्धार गर्ने क्रममा पूर्व जादै गरेको को १ च ८४५६ नम्बरको जिपले ठक्कर दिएपछि प्रहरी जवान खवास घाइते भएको जिल्ला प्रहरी कार्यलय झापामा सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हरीप्रसाद शर्माले बताए।
प्रहरीका अनुसार ती युवा मदिरा पिएर नशाले सडकमा ढलेका रहेछन्। सडकमा मानिसको उद्धार गर्दा प्रहरी आफैंले ज्यान गुमाएको स्थानीयबासीले बताए। जिपको ठक्करबाट गम्भीर घाईते खवासको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको हो। २०६९ साल चैत २५ गते नेपाल प्रहरीमा प्रवेश गरेका खवासको ५ महिना अघि मात्र विवाह भएको पारिवारीक श्रोतले बताएको छ।