खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समय नै नआएको मितिलाई उत्पादन मिति तोकेर बजारमा आइसक्रिम पठाउने उद्योगलाई कारबाही गरेको छ।
ललितपुरस्थित नेपाल डेरी उद्योगबाट उत्पादित मिल्क बार नामक आइसक्रिममा उत्पादन मिति २०७४ भदौ ११ गते राखिएको पाइएपछि विभागको एक टोलीले कारबाही गरेको हो। अनुगमनका क्रममा समयअगावैको मिति राखिएको पाएपछि ५१ थान कार्टुन आइसक्रिम समेत टोलीले नष्ट गरेको छ।
साथै विभागले भविष्यको उत्पादन मिति भएका उक्त मिल्क बार बजारबाट फिर्ता गरी सोको अभिलेख तथा आवश्यक कागजात सहित उद्योगका संचालकलाई ३ दिन भित्र विभागमा उपस्थित हुन पत्राचार गरेको छ। विभागले भविष्यको उत्पादन मिति पाइएमा उपभोग नगर्न र जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ।
यसअघि मैतिदेवीका एक उपभोक्ताले आफूले खरिद गरेको आइसक्रिमको उत्पादन मिति २०७४ भदौ ११ राखिएको पाएपछि विभागको फेसबुक पेजमार्फत जानकारी गराएका थिए।